२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुँदै, प्रथम हुनेले पाउनेछन् ५० हजार



दीपा महत, जितपुर ।

नेपालमै पहिलो पटक कपिलवस्तुमा साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता हुने भएको छ ।

सामाजिक काममा सक्रिय संस्था लायन्स क्लव अफ कपिलवस्तुले यहि असोज १५ गते प्रतियोगिता आयोजना गर्न लागेको हो । जिल्लाको वाणगंगा नगरपालिका राजापानीको एक पोखरीमा हुने प्रतियोगिता नेपालमै पहिलो पटक संचालन गर्न लागिएको आयोजकको दाबी छ ।

प्रतियोगिताको तयारीबारे जानकारी गराउन शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम सुभागे थारुले प्रतियोगितामा सहभागी हुन चाहानेहरुको लागि आबेदन खुला गरिएको जानकारी दिनुभयो ।

एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने अध्यक्ष थारुले बताउनुभयो । प्रतियोगिता सुरक्षाका हिसाबले पनि चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्ससंगै सिएण्डसि अस्पतालसंग पनि सहकार्य गरिएको उहाँले बताउनुभयो ।

क्लवका रिजन चेयर पर्सन सुरेन्द्र घिमिरेले प्रतियोगिता पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर सहभागी हुन सम्पूर्णलाई आग्रह गनुभयो । १२ गतेसम्म रजिष्ट्रेसन फर्म खुला गरिएको भन्दै जुनसुकै जिल्लाका व्यक्ति पनि सहभागी हुन पाउने बताउनुभयो ।

१२ वर्ष भन्दा माथिका व्यक्ति सहभागी हुन पाउने उक्त प्रतियोगितामा १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा भने अनिवार्य अभिभावकको अनुमति लिनुपर्नेछ यस्तै १८ वर्ष भन्दा माथिका जटिल रोग नलागेका व्यक्ति सहभागी हुन पाउने घिमिरेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका सह-सचिव रामप्रसाद भुसालले यस प्रतियोगिताले कपिलवस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने भन्दै यसको ब्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न सामाजिक काममा सक्रिय लायन्स क्लवले खेल क्षेत्रमा पनि केही गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । प्रतियोगितामा २ सय ५० भन्दा बढीलाई सहभागी गराउन नसकिने उहाले बताउनुभयो ।

असोज १५ गते विहान १० बजेबाट राजापानीमा सुरु हुने प्रतियोगिता दर्शकले निशुल्क रुपमा हेर्न पाउने छन भने प्रतियोगिताबाट भरपुर मनोरन्जन प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्राप्त गर्नेछन् ।

प्रतियोगिता संयोजक विष्णु प्रसाद घिमिरे रहनुभएको छ । पत्रकार सम्मेलनमा लायन्सका प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरे, लायन्सका विभिन्न पदाधिकारी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  १ : १६ बजे