२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

ड्रोनबाट जग्गा नापजाँच गर्ने काम सम्पन्न



बुटवल ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचको काम पूरा भएको छ ।

बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट सुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतिपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिए ।

ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय सरकारलाई सिफारिश गर्ने उनले बताए ।

जग्गा नापजाँच शुरु गरेको ११ दिनमा करिब ३५ हजार तस्वीर लिइएको र ती तस्वीरका आधारमा मोतिपुर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने जग्गा नापजाँचमा खटिएका प्राविधिक सागर गिरीले जानकारी दिए ।

उनले तथ्यांक प्रशोधनका लागि करीब १ महिना लाग्ने र पुनः फिल्ड अध्ययनपछि अन्तिम रिपोर्ट तयार गर्ने बताए ।

प्राविधिक टोलीले नापजाँचपछि तयार पार्ने तथ्यांकका आधारमा मोतिपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताए ।

उनले संघीय सरकारले स्थानीय तहको सिफारिसका आधारमा औद्योगिक क्षेत्रका नाममा थप जग्गा ल्याउनुपर्ने या घटाउनुपर्ने भएमा निणर्य गरेर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने बताए ।

‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आए पनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो अब यो विवाद हट्नेछ स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ,’ उनले उनले भने ।

२०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम हुने बताए ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा बनेको कार्यदलले ड्रोनबाट जग्गा नापजाँच गरिसकेर प्रतिवेदन तयार गर्ने र सोहीअनुसार प्राप्त विवरणका आधारमा औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाउन सकिने वा नसकिनेबारे प्रतिवेदन तयार गरी पेस गर्नेछ ।

प्राविधिकले अन्तिम रिपोर्ट पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निणर्य गरी सिफारिस गर्ने कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

मोतीपूर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि १० भदौमा गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो ।

लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९ सोमबार ००:००  ८ : ५४ बजे