१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

माओवादी नेता बलदेव भन्छन्ः माओवादीले काम धेरै गर्‍यो, प्रचार कम भयो



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (माओवादी केन्द्र) वाणगंगा नगर कमिटीले आउँदै गरेका महान चाडपर्वहरुको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

आउँदै गरेका चाडवाड र आसन्न मंसिर ४ को प्रदेश र संघीय निर्वाचनलाई मध्यनजर गरी माओवादी बाणगंगाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै माओवादीका सचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ले माओवादीले काम धेरै गर्ने तर प्रचार प्रसार कम गर्ने गर्दा यसको जस अरुले लिइरहेको जिकिर गरे ।

उनले भने, ‘माओवादीले काम धेरै गर्छ तर प्रचार प्रसार गर्न सकेन् । जसले गर्दा यसको जस अरुले लिइरहेका छन् ।’

आफ्ना एजेन्डाहरूलाई स्थापित गर्न अहिले पनि संघर्ष भइरहेको भन्दै उनले पार्टीका गरेका कामको प्रचार प्रसार गर्न कार्यक्रमलाई निर्देशन दिए ।

माओवादीकै कारण संविधान, संघीयता जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै त्यसको रक्षाका लागि माओवादीले नै अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।

आसन्न संघीय निर्वाचनमा कपिलवस्तु प्रतिनिधिसभा १ का उम्मेद्वार समेत रहेका खनालले माओवादी पार्टीलाई कमजोर भन्ने नै कमजोर भएको बताउँदै अघिल्लो चुनावका बाँकी प्रतिबद्धता पुरा गर्ने दावी गरे । उनी प्रतिनिधिसभा १ का सांसद समेत हुन् । कृषि, सिंचाई लगायत बाटोघाटो र विकास निमार्णका काम गर्र्दै आएको उनको जिकिर छ ।

पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज कमल चुदालीले माओवादी पार्टी समाजवाद तर्फ लागेको बताउँदै पार्टीले जनताको जनचाहना अनुरुप काम गर्नुपर्नेमा जोड दिए ।

अर्का केन्द्रिय सदस्य इसरात अहमदले समाजमा हुने गलत क्रियाकलाप विरुद्ध माओवादीले आवाज उठाउने बताए ।
कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक रामचन्द्र शाह, प्रदेश सचिवालय सदस्य जनी बञ्जाडे, सुकई थारु, नारायण भुसाल, विष्णु बेल्बासे, सुभाष सल्यानी, पार्टीका केन्द्रिय परिषद सदस्य टिकाराम पन्थी, प्रदेश सल्लाकार भोजराज आचार्य, जिल्ला सल्लाकार तिलोचन भारती, लुम्बिनी परिषद सदस्य हुमनाथ पौडेल, जिल्ला समन्वय समिति सदस्य टोपनारण बेल्बासे, उपभोक्ता हित तथा संरक्षण मञ्चका रामप्रसाद गैरे, प्रदेश, जिल्ला सल्लाहकार लगायत प्रदेश जिल्ला नेता कार्यकताको उपस्थिति रहेको थियो ।

यता कार्यक्रममा गत स्थानीय तहको चुनावमा नेकपा एसबाट मायादेवी गाउँपालिकाको उपमेयरमा चुनाव उठेकी माधुरी अग्रहरी लगायत विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए ।

नगर कमिटी अध्यक्ष देवराज अर्यालको अध्यक्षता, नगर उपाध्यक्ष टेकेन्द्र क्षेत्रीको मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन नगर सचिव प्रेम विकले गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  ८ : १९ बजे