६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बुद्धभूमिले मिलायो डेंगीको निःशुल्क परिक्षण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले डेंगीको निःशुल्क परिक्षणको व्यवस्था मिलाएको छ ।

डेंगी संक्रमितको संख्या बढिरहेको बेला बुद्धभूमिले नगरबासीका लागि निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको हो ।

डेंगीको लक्षण देखिए पछि अस्पताल जादा चर्को मूल्य तिरेर परिक्षण गराएको जनगुनासो बढेपछि नगरपालिकाले निःशुल्क परिक्षणको व्यवस्था मिलाएको नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।

नगरका महुवा स्वास्थ्य चौकी र बरकुलपुर स्वास्थ्य चौकीमा निःशुल्क परिक्षणको व्यवस्था रहेको नगर प्रमुख श्रेष्ठले बताए ।

यी दुई स्वास्थ्य चौकीमा ल्यावको सुविधा रहेकाले स्वास्थ्य परिक्षण यही गराउने प्रबन्ध मिलाइएको उनले बताए ।

एक हप्ता देखि डेंगी रोगको शंकाष्पद व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य परिक्षण गराउँदै आएको छ । सुरुवातमा ३ सय किटबाट परिक्षण सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए । आवश्यकता अनुसार किट खरिद गर्ने र नगरबासीलाई निःशुल्क व्यवस्था मिलाइने गौतमले जनाए ।

नगरको स्वास्थ्य शाखा प्रमुख खुबिराम खनालले बरकुलपुर स्वास्थ्य चौकीमा १७ जना शंकाष्पद विरामीको डेंगी परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको बताए ।

यस्तै महुवा स्वास्थ्य चौकीमा ४ जनाको परिक्षण गर्दा एक जनामा डेंगी भेटिएको छ ।

डेंगी रोगको लक्षण भएको शंका लागे स्वास्थ्य चेकजाच गराउन खनालले आग्रह गरेका छन् ।

हाल देशभर डेंगी रोगका संक्रमित बढिरहेका छन् । डेंगी एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगीको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।

डेंगी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : २८ बजे