१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

‘साना उद्योगी मारमा, महासंघ ठूला उद्योगीको कब्जामा’



मायादेवी अनलाइन, बाणगंगा ।
साना तथा मझौला उद्योगी मारमा परेको भन्दै एक कार्यक्रममा गुनासो उठेको छ । उद्योग व्यापार संघ कपिलवस्तुले राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राष्ट्रिय पुजिपति वर्ग, साना तथा घरेलु उद्योग व्यवसायी दिनप्रतिदिन टाट पल्टने स्थिति आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

व्यापारमा नाफा भन्दा घाटा बढी हुन थाल्दा अधिकांशले व्यापार व्यवासाय छाडेको भन्दै उद्योगी व्यवासायीको पैरबी गर्ने संस्था नेपाल उद्योग बाणिज्य महासंघ ठूला व्यापारीको कब्जामा परेको बक्ताहरुले चर्चा गरेका छन् ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खेमनारायण पराजुलीले साना उद्योगी, व्यवसायीको हितमा निरन्तर पैरवी गरिरहेको बताए । ठूला व्यापारीको कब्जामा देशको अर्थतन्त्र रहेको भन्दै राष्ट्रिय पुजिपति वर्गको उत्थान बिना देश समृद्ध बन्न नसक्ने उनले जिकिर गरे ।

साना साना उद्योगी व्यापारी एक जुट भएर अगाडी बढ्नुको विकल्प नदेखेर उद्योग व्यापार संघ स्थापना गर्नुपरेको पनि उनले बताए । पराजुलीले देशको अर्थतन्त्र, उद्योगी, व्यवसायीको वर्तमान स्थिति लगायतको विषयमा अवगत गराएका थिए ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले असन्तुलित व्यापार घाटा, आयातमुखी व्यापारले डलरको भाउ बढ्दा देशको अर्थतन्त्र धर्मराउने स्थितिमा आएको बताए । देशमा इतिहासमै नभएको तरलता देखिएको भन्दै यसमा राज्य गम्भीर नबनेको पन्थीले आरोप लगाए ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक विष्णु बेल्वासेले उद्योगीहरुको बर्गीकरण आवश्यक रहेको बताए । देशमा दलाल पुजिपति वर्गको कब्जामा व्यापार भएको भन्दै राष्ट्रिय पुजिपति वर्गको स्थिति दयनिय बन्दै गएको दाबी गरे । नेपाल विं.स. २००७ साल देखि हालसम्म थुप्रै राजनीतिक परिवर्तन भएपनि विज्ञताको अभावले धेरै क्षेत्रमा समस्या रहेको बताए ।

कुनै पनि क्षेत्रको समस्या समाधानमा विज्ञहरुको भूमिका महत्वपूर्ण हुने जिकिर गरेका उनले अब राज्यले हरेक क्षेत्रमा विज्ञहरुबाट समाधानको प्रयास थाल्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका बाणगंगा नगर सभापति तथा सिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापाले साना उद्योगी टाट पल्टने स्थिति आएको भन्दै सरकार यस विषयमा मौन जस्तै बनेको टिप्पणी गरे । अधिकांशले व्यापार छाडेर अन्यत्र पलायन भइरहेको भन्दै यसमा राज्यको निति निर्माण तहमा बहस हुन जरुरी रहेको थापाले बताए । नेपाल श्रीलङ्काको दिशामा जान थालेको चर्चा भइरहेको भन्दै अब पार्टी भित्र गलत कामको प्रतिवाद गरी समृद्धि नेपालको यात्रामा लाग्नुको विकल्प भएको उनले जनाए ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलले विजयादशमी, शुभदीपावली, छठ लगायतका पर्वको शुभकामना दिदै साना र मध्यम व्यापारीको हकहितमा काम गनुपर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघ साना र मध्यम व्यापारीको पक्षमा नरहेको भन्दै आफूहरुले अब जिल्लामा पनि सोही ढंगले काम गर्ने बताए ।

उद्योग व्यापार संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल कपिलको सन्चालनमा भएको कार्यक्रममा राष्ट्रिय उद्योग व्यापार महासंघ नेपालका केन्द्रीय सदस्य टोपनारायण बेल्वासे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई, पत्रकार चन्द्रकान्त न्यौपाने, औषधि व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष धर्मराज भट्टराई लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९ शनिबार ००:००  ८ : ४५ बजे