११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

सुशान्त थापाले चुमे उपाधि



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगीताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगीतामा थापाले १२.३७ सेकेन्डमा ४४ मिटर दुरी पार गर्दै प्रतियोगीताको उपाधि जितेका हुन् ।

पानी माथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो ।

१ सय ५० जना प्रतियोगीता बीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारुले बताए । प्रतियोगीताको पहिलो चरणमा ८ जनाले दुरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्धितिय भए । उनले रु २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दुरीमा लक्ष्य चुमेका थिए ।

कपिलवस्तुका शौरव शर्मा तृतिय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दुरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए ।

दोस्रो चरणमा ८ जना बीच भएको प्रतिस्पर्धामा ६ जनाले दुरी पार गरे पनि २ जना बीचमै असफल भएका थिए । ६ जना बीच दुरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारुले बताए ।

जिल्लाको वाणगंगा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कहिल्यै नहेरेको खेल हेर्न पाएको भन्दै दर्शक खुसी देखिन्थे ।

प्रतियोगितामा आयोजकले सहभागीको रजिष्ट्रेजन शुल्कवापत १५ सय तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन गरेको थियो । खेलमा सहभागीका लागि कपिलवस्तुसंगै रुपन्देहीबाट समेत सहभागी भएको खेल संयोजक विष्णु घिमिरेले बताए ।

प्रतियोगिता सुरक्षाका हिसाबले पनि चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्सको व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७९ शनिबार ००:००  ६ : ४६ बजे