५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु बाणगंगाका माध्यमिक विद्यालय मासिक र भर्ना शूल्क घटाउन तयार भए



मायादेवी अनलाइन, बाणगंगा ।
लामो रस्साकस्सीका बीच कपिलवस्तु बाणगंगा नगरपालिकाका माध्यमिक विद्यालय आफूले बढाएको शूल्क घटाउन तयार देखिएका छन् ।

नयाँ शैक्षिकसस्त्र ०७९ लागे पछि बाणगंगाका सामुदायिक विद्यालयहरुले कक्षा ११ र १२ को भर्ना र मासिक शूल्कमा भारी बृद्धि गरेका थिए ।

शूल्क बृद्धि भएलगत्तै संघर्षमा उत्रिएका एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) एकीकृत समाजवादी निकट अनरास्ववियू, विप्लव निकट अखिल (क्रान्तिकारी) र नेकपा (बहुमत) निकट (अखिल क्रान्तिकारी) का प्रतिनिधिसंगको निरन्तर छलफल पश्चात विद्यालयले बढाएको शूल्क घटाएका हुन् ।

शूल्क बृद्धि लगत्तै विद्यार्थी संगठनले संघर्षका कार्यक्रम तय गरी विद्यालयका प्रध्यानाध्यापकसंग छलफल गरेका थिए ।

यस छलफलले निकास नपाए पछि एक अल्टिमेटम दिदैं बाणगंगा नगरपालिकालाई शूल्क घटाउन विद्यार्थी नेताहरुले दबाब दिएका थिए ।

विद्यार्थी संगठनको दबाब स्वरुप नगरपालिकाले पहल गरी विद्यालय र विद्यार्थी संगठन बीच पटक पटक वार्ता बसालेको थियो ।

पटक-पटक बसेको वार्ता पश्चात विद्यालयहरु बढाएको शूल्क घटाउन तयार भएको अनेरास्ववियूका जिल्ला सचिव कमल बेल्वासेले जानकारी दिए ।

विद्यालयहरुले कक्षा ११ र १२ मा मासिक शूल्कमा ३ सय र भर्ना शूल्कमा ५ सय बढाएका थिए ।

उक्त शूल्क समायोजन गरी मासिक शूल्क र भर्ना शूल्क दुई/दुई सय घटाउन सफल भएको सचिव बेल्वासेले बताए । साथै गरिब तथा जेहेन्दार विद्यार्थीको हकमा विशेष सहुलियत दिने गरी सहमति भएको पनि उनले बताए ।

विद्यालयहरुले कक्षा ११ र १२ मा मासिक शूल्कमा ७ सय लिदैं आए पनि यसलाई बढाएर १ हजार पुर्‍याएका थिए । अब विद्यार्थीहरुले मासिक शूल्क ८ सय दिनुपर्ने छ ।

भर्ना शूल्क ४५ सय पुर्‍याएका विद्यालयहरुले त्यसलाई ४३ सयमा झारेका छन् ।

शूल्क घटाउनु पूर्व नगरपालिकाले विद्यार्थी संगठन, शिक्षक र विद्यालय व्यवस्थापन समिति बीचबाट एक कार्यदल गठन गरी विद्यालयहरुको अवस्था बुझ्न पठाएको थियो । उक्त कार्यदलले विद्यालयहरुको अवस्था अध्ययन गरेर बनाएको प्रतिवेदन नगर प्रमुख चक्रपाणी अर्याललाई बुझाएर शूल्क बृद्धि गरेपनि त्यसलाई समायोजन गर्नुपर्ने विकल्प दिएको थियो ।

धेरै दिनको वार्ता पश्चात विद्यालयले बढाएको शूल्क समायोजन गरेपछि संघर्षका कार्यक्रम स्थगित गरिएको नेविसंघका नेता माधव पौडेलले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७९ आइतबार ००:००  ८ : ५३ बजे