१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ग्यारेजका कारण अस्तव्यस्त चन्द्रौटा, मेयर भन्छन्, ‘दशैं लगत्तै व्यवस्थापनको प्रक्रिया थाल्छौ’



मायादेवी अनलाइन, बाणगंगा ।
जथाभावी ग्यारेज पसलले कपिलवस्तुको मुख्य व्यापारिक केन्द्र चन्द्रौटा बजार क्षेत्र अस्तव्यस्त देखिएको छ ।

पूर्व-पश्चिम राजमार्गसंगै जोडिएर सञ्चालन भएका ग्यारेजका पसलले चन्द्रौटा बजार अस्तव्यस्त बनाएको हो ।

जहाँ पायो त्यहाँ गाडी रोक्दा चन्द्रौटा बजार धुलाम्मे बन्ने गरेको छ । सडकको चौडा फराकिलो भएपनि ग्यारेजकै कारण चन्द्रौटाको सौन्दर्यिकरणमा समस्या आएको स्थानीय प्रताप बानियाँले बताए ।

चन्द्रौटा बजार क्षेत्रमा एक दर्जन बढी ग्यारेजका पसल सन्चालनमा छन् । पश्चिम नेपालको नेपालगन्ज र बुटवल पछिको ग्यारेज चन्द्रौटामा सन्चालन हुँदै आएका छन् । ग्यारेजले प्रत्यक्ष रोजगारीको अवसर सिर्जना मात्र गरेको छैन्, सवारी धनीलाई मर्मत, सम्भारमा लाग्ने लागत समेत कम पर्ने गरेको छ ।

तर अव्यवस्थित ग्यारेज पसलका कारण चन्द्रौटाको बजार व्यवस्थित हुन सकेको छैन् । यसको व्यवस्थापनमा लाग्न नगरपालिकाले चासो देखाउनुपर्ने बजारबासीले बताएका छन् ।

चन्द्रौटा बजार कृष्णनगर भन्सार नाकासंग जोडिएको महत्वपूर्ण व्यापारिक केन्द्र हो । यति मात्र होइन यस क्षेत्रमा दर्जनौं ठूला उद्योग सन्चालन हुँदै आएका छन् ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले चन्द्रौटा बजारलाई व्यवस्थित बनाउन दीर्घकालिन योजना बन्दै गरेको बताएका छन् ।

ग्यारेजका कारण चन्द्रौटा अस्तव्यस्त भएको भन्दै यसलाई अन्यत्र व्यवस्थापन गर्नका लागि आफूले प्रयास थालिरहेको नगर प्रमुख थापाले बताए ।

‘चन्द्रौटा सफा सुग्गर बजार बनाउने प्रयासमा छु । बजार क्षेत्र भित्र ग्यारेजका पसल सन्चालन हुँदा बजार सफा हुन सकेको छैन्, उनले भने, ‘हाल सन्चालन भइरहेका ग्यारेज पसललाई अन्यत्र जग्गा व्यवस्थापन गरी व्यवस्थापन गर्ने योजनामा लागेका छौं । दशैं लगत्तै प्रक्रिया थाल्छौं ।’

प्रकाशित मिति : १७ आश्विन २०७९ सोमबार ००:००  ११ : २४ बजे