११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

यी हुन बुद्धभूमि नगरपालिकाका नगर गौरवका योजना



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ५ योजनालाई नगर गौरवका योजनामा राखेको छ । नगरपालिकाले पहिलो कार्यकालमा सुरुवात गरेका योजनालाई निरन्तरता दिदैं नगरबासीलाई महसुस हुने गरी योजनालाई प्राथमिकतामा राखेर काम थाल्दै छ ।

नगर प्रमुख केशव कुमार श्रेष्ठका अनुसार नगर गौरवका योजनामा टिक्कर–बुड्ढी–विजगौरी हुलाकी सडक, बुड्ढी तालको सौन्दर्यीकरण, नगरपालिका स्तरीय १५ शैय्याको अस्पताल निर्माण, नगर चक्रपथ सडकमा पर्ने ठूला पक्की पुल र प्रशासकीय भवन छन् ।

गत आवबाट थालिएको टिक्कर–बुड्ढी–विजगौरी हुलाकी सडकको काम धमाधम जारी छ । टिक्करबाट थालिएको सडक कालेपत्रे गर्ने काम गत बर्ष देखि नै सुरुवात गरिएको छ । बहुबर्षिय योजनामा राखेर सडक बनाउने काम भइरहेको नगर प्रमुख श्रेष्ठले बताए ।

गत बर्ष झण्डै दुई किलोमिटर सडक कालोपत्रे भएको वडा नं. १ का वडाध्यक्ष तेजबहादुर बस्नेतले बताए । संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा उक्त कालोपत्रे भएको भन्दै यो बर्ष नगरपालिकाले मात्र बजेट छुट्याएको उनले बताए । संघमा बजेट माग गरिए पनि यो बर्ष बजेट नआएको उनको भनाई छ ।

नगरपालिकामा ठूलो सरकारी अस्पताल छैन । गत आवमा १५ शैय्याको अस्पताल बनाउने गरी वडा नं. २ को बडहरामा कामको सुरुवात गरिएको छ । टेण्डर प्रक्रिया सकिएर हाल अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । आगामी २ बर्ष भित्र अस्पताल बनाएर नगरबासीलाई सेवा दिने नगरको तयारी छ ।

नगरपालिकाले बुड्ढी ताल सौन्दर्यीकरणका लागि डिपिआर बनाएर काम अगाडी बढाएको छ । नगरपालिकाको केन्द्रमा पर्ने यो ताल प्रशासनिक कार्यालय नजिकै छ ।

बुड्ढी तालको लागि यो बर्ष नगरपालिकाले १ करोड रकम हालेको छ भने लुम्बिनी प्रदेश सरकारले ६० लाख छुट्याएको छ । दशैं लगत्तै काम थाल्ने गरी टेण्डर प्रक्रियाको थालनी हुने नगरपालिकाले जनाएको छ ।

वडा नं. ४ मा रहेको यो तालको सौन्दर्यीकरण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्त्राउने लक्ष्य राखिएको छ ।

थारु समुदायको बाहुल्यता रहेको वडा नं. २ मा थारु संस्कृतिको जगेर्ना गरी थारु होमस्टे सन्चालनसम्मको योजना बनाइएको निवर्तमान वडाध्यक्ष पवनकुमार थारुले बताए ।

नगरपालिकाले चक्रपथ निर्माणको काम पनि जारी राखेको छ । चालु बर्षमा कतिपय सडक बनाउने र ठूला पुल निर्माणको काम प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९ मंगलबार ००:००  २ : ३० बजे