८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तु-१ कांग्रेसः ‘गठबन्धन हुनु पर्छ, टिकट हामीले पाउनुपर्छ’



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीले उम्मेद्वार पाउनुपर्ने माग गरेको छ ।

गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले टिकट पाउने लगभग पक्कापक्की भएको बेला कांग्रेस क्षेत्रिय समितिले त्यसको विरोध गरेको हो ।

गत स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो शक्ति रहेको दाबी गर्दै अन्यत्र पार्टीलाई टिकट दिए यहाँ जित्ने आधार गुम्न सक्ने चेतावनी दिएको छ ।

कांग्रेसको प्रतिनिधिसभा-१ को प्रदेशसभा (१) का सभापति दुर्गा केसीले कांग्रेसको २८ हजार मत दिएर ९ हजार मत भएको माओवादीलाई जिताउन गाह्रो पर्ने तर्क गरेका छन् ।

तौलिहवामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी केसीले भने-‘केन्द्रीय निती अनुसार गठबन्धनको विकल्प छैन्, तर कपिलवस्तु-१ को हकमा केन्द्रीय नेतृत्व गम्भीर बन्नै पर्छ । माओवादीलाई टिकट दिए जिताउन गाह्रो पर्छ ।’

पत्रकार सम्मेलनमा प्रतिनिधिसभा-१ का कांग्रेस सभापति मन्नान खाँले कांग्रेसले टिकट पाउनुपर्ने माग कार्यकर्ताले राखिरहेको जिकिर गरेका छन् । कार्यकर्ताको दबाब दिनहुँ हुने गरेको भन्दै अघिल्लो चुनाव जितेर माओवादीले काम गर्न नसकेको आरोप समेत लगाए । यस्तो बेला चुनावी नतिजा गलत आउने उनले चेतावनी दिए ।

कार्यकर्ताको भावना अनुसार प्रतिनिधिसभाको टिकट कांग्रेसले पाउनुपर्नेमा उनले जोड दिए ।

पत्रकार सम्मेलन कांग्रेसको संस्थापन पक्ष (देउवा) निकटले राखेको हो । सम्मेलनमा उपस्थित भएका अधिकांश नेताहरुले कांग्रेसले टिकट पाउनुपर्ने त्यसमा दीपकुमार उपाध्याय हुनुपर्ने माग राखेका थिए ।

तर केन्द्रले तय गरेको उम्मेद्वारलाई आफूहरुले सहयोग गर्ने, कार्यकर्ता सम्हाल्न भने आफूहरुले नसक्ने उनीहरुले बताएका छन् ।

दीपकुमार उपाध्याय पक्षिय नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको उक्त पत्रकार सम्मेलनमा कपिलवस्तु नगरपालिकाका पार्टी सभापति खुर्सेद अहमद खाँ, शुद्धोधन गाउँपालिकाका सभापति विशम्भर कुर्मी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यस्तो छ यो क्षेत्रको मतभार

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा वडामा पाएको मतको हिसाब गर्दा ५ दलिय गठबन्धनको मत ५४ हजार ८ सय ४१ हुन आउँछ ।

स्थानीय तहको चुनावमा गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धा गरेका ५ दलिय गठबन्धन मध्ये नेपाली कांग्रेसले यस निर्वाचन क्षेत्रमा २८ हजार २७१ मत पाएको छ ।

गठबन्धन भित्रको जनता समाजवादी पार्टी (जसपा) ले १३ हजार ५१० मत पाउँदा नेकपा (माओवादी केन्द्र) ले ९ हजार ३३८ मत पाएको छ ।

नेकपा (एकीकृत समाजवादी) को मत यहाँ ३ हजार ७२२ छ ।

एमालेले यो निर्वाचन क्षेत्रमा २६ हजार ८२३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ हजार ४२४ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८० मत पाएको छ ।

यो मत विश्लेषण गर्दा ५ दलिय गठबन्धनको मत ५४ हजार ८४१ हुन आउँछ । एमालेको मत यहाँ २६ हजार ८२३ छ ।

एमाले भन्दा गठबन्धन २८ हजार १८ मतले अगाडी देखिन्छ ।

कांग्रेस इतर माओवादी, समाजवादी, जसपाको मत २६ हजार ५ सय ७० रहेको छ । कांग्रेसको एक समूहले आफूले पाएको मतले गठबन्धनका उम्मेद्वारले जित्छन् भन्ने नरहेको चेतावनी दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९ मंगलबार ००:००  २ : ५८ बजे