८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले बढ्यो



काठमाण्डौ ।

तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गएको वर्षको भन्दा १० प्रतिशतसम्मले बढेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घले गएको वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको बताएको हो । महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको बताएको छ ।

तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदरबिक्री बढ्न थालेको छ । फूल र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला पनि देख्न सकिन्छ ।

अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि सुरु भएको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा केही कमी आउने बताउनुभयो ।

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पोखरेलले नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले झिलिमिली बत्तीको मूल्य बढेको बताउनुभयो । उहाँले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र एलसी खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताउनुभयो ।

पोखरेलले गएको वर्ष नेपालमा झन्डै ४० करोडको झिलिमिली बत्ती आयात भएको भन्दै यो वर्ष झन्डै ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताउनुभयो । कोभिडभन्दा अघि २०७६ सालमा तिहारको समयमा नेपालमा झन्डै ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड रुपैयाँ बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा झिलीमिली बत्तीको उत्पादन छैन । धेरै प्रतिशत चीनसँग निर्भर रहेका छौँ । तिहारमा झालर, माला बत्ती, बल्व लगायत धेरैजसो चीनबाट आउँछन् र थोरै मात्रामा भारतबाट आउँछ । पछिल्लो दुई वर्ष कोभिडको मारमा पर्‍यौँ । राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण पनि यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तीको धेरै व्यापार हुने देखिएको छैन । बत्तीको आयातसमेत कम हुने महासङ्घको आँकलन छ । डलरको मूल्य वृद्धि भएको तथा झिलीमिली बत्ती चीनबाट लोड गर्ने बेलामा लकडाउन भएकाले कम आउने देखिन्छ । चीनबाट आयातका लागि नेपाली व्यावसायीले अर्डर दिए पनि जुन बेला लोड हुनुपर्ने थियो, त्यो बेला चीनका सहरमा लकडाउन भयो । जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन ।

प्रकाशित मिति : १ कार्तिक २०७९ मंगलबार ००:००  ६ : ०० बजे