२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्छः डा भुसाल



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा वेदुराम भुसालले जनताको मौलिक अधिकारसहित सिङ्गो प्रणालीको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन्।

पार्टीको काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको दसैँ, तिहार, छठ र नेपाल संवत्लगायतका चाडको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा डा भुसालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गर्दै गठबन्धनका साझा उम्मेदवार अग्रगमनका पक्षधर भएको प्रष्ट पारे ।

नेकपा (एमाले) सँग आफूहरूले विद्रोह नगरेको भए संविधानको रक्षा नहुने बताउँदै उनले आफूहरूले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलब्धिको रक्षा गरेको उल्लेख गरे।

महासचिव डा भुसालले स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण धेरै मत बदर भएको स्मरण गर्दै त्यसतर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुदृढ गर्ने र त्यसका लागि प्रत्यक्षसहित समानुपातिकतर्फ पार्टीको कलम चुनाव चिह्नमा मतदान गर्न अभिप्रेरित गर्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए । रासस

प्रकाशित मिति : ६ कार्तिक २०७९ आइतबार ००:००  १ : ०० बजे