३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

चौथो पटक जितको खोजिमा सुधाकर पाण्डेय



मायादेवी अनलाइन, बाणगंगा ।
लगातार तेस्रो पटक चुनाव हारेका सुधारण पाण्डेय चौथो पटक पनि चुनावी दौडमा छन् ।

कपिलवस्तु प्रतिनिधिसभा-३ को प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेय यो पटक अनिवार्य जित सुनिश्चित गर्ने गरी मैदानमा उत्रिएका छन् ।

सत्ता गठबन्धनको साथ पाएका पाण्डेयलाई जित निकाल्न भने त्यति सजिलो छैन् । बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा जसपा र एमालेले धेरै जनप्रतिनिधि जितेको कारण पाण्डेयलाई जित निकाल्न त्यति सहज नदेखिएको हो ।

उनको मुख्य प्रतिस्पर्धी एमालेका धर्मबहादुरलाल श्रीवास्तव र जनता समाजवादी पार्टीका अब्दुल रसिद खाँ छन् ।

श्रीवास्तव ०७४ मा प्रदेश सभा जितेका निवर्तमान सांसद हुन् । पाण्डेय झिनो मतान्तरले श्रीवास्तवसंग पराजित भएका थिए ।

पाण्डेय ०६४ देखि लगातार चुनाव लड्दै आएका छन् । ०६४, ०७० का दुवै संविधानसभा निर्वाचनमा बृजेश कुमार गुप्तासंग पराजित भएका थिए ।

तत्कालिन संविधानसभा निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्दै आएका उनी हाल प्रदेश सभा निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् ।

नेपाली कांग्रेस कपिलवस्तुको नेतृत्व सम्हालेका उनी जिल्ला भित्र चुनाव नजित्ने मध्येका एक शिर्ष नेतामा पर्छन् । यो निर्वाचनमा पनि उनलाई चुनाव जित्न हम्मे हम्मे छ ।

नेपाली कांग्रेसका युवा नेता रहेका गयादीन कुर्मी (दीपु) ले लौरो चुनाव चिह्न लिएर उनीसंग प्रतिस्पर्धा गरिरहेका छन् ।

अघिल्ला निर्वाचनमा पाण्डेयलाई साथ दिदैं आएका कुर्मीले यो निर्वाचनमा उनकै मत काट्ने अड्कलबाजी छ ।

कपिलवस्तु नगरपालिकाका ७ वडा, यशोधरा गाउँपालिकाका ८ वडा र बुद्धभूमि नगरपालिकाको १ वडा यो निर्वाचन क्षेत्रमा पर्दछ ।

स्थानीय तहको निर्वाचनमा कपिलवस्तु नगरपालिका जसपाले जितेको छ भने यशोधरा गाउँपालिका एमालेले जितेको छ । बुद्धभूमि नगरपालिकाको एक वडा रहेको यो क्षेत्रमा जसपाले बाजि मारेको छ ।

वडागत स्थिति हेर्दा एमालेले धेरै वडा जितेको छ ।

यशोधरा गाउँपालिकाका ८ वडा मध्ये वडा नं. १, वडा नं. २, वडा नं. ८ एमाले उम्मेदवार विजयी भएका छन् भने नेपाली कांग्रेसले वडा नं. ३ र वडा नं. ७ जितेको छ ।

जसपाले वडा नं. ४ जित्दा वडा नं. ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं. ६ मा जनमत पार्टीका उम्मेदवारले चुनाव जितेका छन् ।

कपिलवस्तु नगरपालिकाका १० वडा मध्ये वडा नं. २, वडा नं. ४, वडा नं. ६ मा एमाले उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसले वडा नं. ३, वडा नं. ५ र वडा नं. १२ जितेको छ ।

जसपाले वडा नं. १ मा जित निकालेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९ मंगलबार ००:००  २ : ११ बजे