२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

जनमुखी र विकासको अगुवाइ गर्ने पार्टी एमाले : उम्मेदवार बलराम अधिकारी



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार बलराम अधिकारीले देशमा विकासको सुरुवात गर्ने एक मात्र राजनीतिक पार्टी एमाले मात्रै रहेको दाबी गरेका छन् ।

आफ्नो गाउँ आफै बनाऔं, युवाहरुलाई रोजगार दिन प्रधानमन्त्री रोजगार कार्यक्रम, विपन्न तथा दलित नागरिकहरुका लागि जनता आवास कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, पोषण भत्ता, बृद्ध भत्ता, अशक्त भत्ता जस्ता नागरिकका समस्या समाधान गर्ने कार्यक्रमको सुरुवात एमाले सरकारले नै गरेको बताउँदै जनताको समस्या बुझ्ने र देश विकास गर्ने पार्टी एमाले मात्रै रहेको उनको दाबी छ ।

निर्वाचन क्षेत्र नं. १ को बाणगंगा नगरपालिका वडा नंं ३ को चम्किपुर, ठांठी, कर्महना, वडा नंं ७ को मोतीपुर लगाएतको स्थानमा जनताको समस्या बुझ्दै मतदातालाई भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।

साथै उनले पार्टीको निति, उद्धेश्य अनुसार ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने लक्ष्यका साथ अघि बढ्दै एमालेको ३ बर्षे शासन कालमा देशमा महत्वपूर्ण विकास निर्माणका काम भएको बताए ।

आगामी दिनमा पनि देशमा यस्तै विकास निर्माणको कामलाई अगाडी बढाउन मंसिर ४ मा हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि बहुमतका साथ विजयी गराउन आग्रह गरे ।

यस्तै निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा १ का उम्मेदवार विष्णु पन्थीले जनताको समस्या बुझ्दै बाणगंगा ३ ठांटी डांडामा सडकको स्तरउन्नती र कालो पत्रेका लागि एमाले सरकारको पालामा १ करोड बजेट विनियोजन गरिए पनि बर्तमान सरकारले कटौती गरेको बताए । साथै उनले एमालेले जिते मात्र देशको विकास र निकास सम्भव रहेको बताउदै कुनै नीति र सिद्धान्त नभएको गठबन्धनले देशलाई निकास दिन नसक्ने दाबी गरे ।

मतदाता भेटघाट कार्यक्रममा समानुपातिकका उम्मेदवार जंजीर प्रसाद थारुले देशको समृद्धीको लागि र ओली सरकारले अगाडी सारेका योजनालाई पुरा गर्न आगामी निर्वाचनमा एमालेले जित्नुको विकल्प नभएको औल्याए ।

घरदैलो तथा मतदाता भेटघाटका क्रममा मतदाताहरुले देशको समृद्धिका लागि पुनः एमाले सरकार ल्याउन आफूहरुले एमालेका उम्मेदवारहरुलाई जिताउने प्रतिबद्धता समेत जनाएका छन् । मतदाताहरुले शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी, सिंचाई लगाएतका समस्याहरु पनि उम्मेदवार समक्ष राखेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९ आइतबार ००:००  १० : ०२ बजे