५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

संसदमा सम्पत्ति छानविनको आवाज उठाउने प्रण गरेका उम्मेदवार घिमिरे



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रतिनिधि सभा-१ को प्रदेश सभा ‘क’ का उम्मेदवार डोलकराम घिमिरे सुशासनको मुद्धालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएका छन् ।

सांसदको मुख्य भूमिका कानुन निर्माण हो भन्ने प्रष्ट बुझेका घिमिरेले समाजमा देखिएको आर्थिक असमानताको मुख्य जड पत्ता लगाउने गरी आफूले भूमिका खेल्ने बताउँछन् ।

सत्तारुढ चार दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका घिमिरेले आफूले चुनाव जितेर संसदमा पुगे ०४६ साल देखि हालसम्म सरकारको उच्च पदस्थमा रहेका काम गर्नेहरुको सम्पत्ति छानविन मुख्य प्राथमिकतामा रहने बताउँदै आएका छन् ।

जनतामाझ यहि विषयलाई जोडतोडले राख्दै आएका घिमिरेले समाजमा गरिब र धनी बीचको खाडल पुर्नुपर्नेमा जोड दिन्छन् ।

‘आज जनताको मुख्य प्रश्न यही छ, ‘नेता तथा कर्मचारीहरु किन रातारात धनी बने ? किन देशमा विकास हुन सकेन्, सिंगो राजनीति प्रति वितृष्णा यही प्रश्नले गराएको म बुझेको छु,’ उनी भन्छन् ।

हिजो केहि नभएकाहरु रातारात अरबपति कसरी बने ? ०४६ साल यताको राजनीति परिवर्तनसंगै केही व्यक्तिको आर्थिक स्थिति कसरी फेरियो ? आम जनताको स्थिति किन दयनिय बन्दै छ ? आफूलाई यी प्रश्नले पिरोली रहेन भन्दै यसलाई संसदमा जोडतोडले कुरा उठाउने उनी बताउँछन् ।

सुशासनयुक्त समाज अहिलेको आवश्यकता भएको भन्दै नेताहरु यसमा सचेत रहनुपर्नेमा उनको जोड छ ।

‘आज राजनीति रुपमा देखिएको वितृष्णाको प्रमुख कारण सुशासन हो । हिजो केही नभएका आज रातारात कसरी धनी बने ? जनताले यही प्रश्न दैनिक राख्दै आएका छन् । आसन्न चुनावमा म उम्मेदवार बनिरहदा मेरो प्रमुख एजेण्डा सुशासन नै छ,’ उनले भने ।

सम्पत्ति छानविनको माग राख्दा पार्टीले कारबाही गरे पनि आफू सहन तयार रहेको उनको अठोट छ । संसद भनेको जनताको आवाज उठाउने थलो भएकाले आफू सत्य कुरा बोल्न नडराउने उनी बताउँछन् ।

घिमिरे हाल मतदाता भेट्न घरदैलोमा पुगिरहेका छन् । उनले मतदाता माझ विकासका मुद्धा पनि लिएर गएका छन् । छाडा पशुचौपायाको समस्या समाधान, सिंचाईको सुविधाका लागि बाणगंगा नदीमा ड्याम निर्माणको पहल, लागू औषध दुव्र्यसनीबाट मुक्तको अभियान लगायत उनका एजेण्डा रहेका छन् । बाटोघाटो निर्माण स्थानीय सरकारले पनि गर्ने भन्दै जनताका मुख्य समस्या पहिचान गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

‘बाटोघाटो निर्माण सामान्य कुरा हो । यो जसले जहाँबाट पनि गर्न सक्छ । घिमिरे भन्छन्, ‘जनताको प्रमुख समस्या छाडाचौपाया व्यवस्थापन छ । लागू औषधको समस्या पनि विकराल बन्दै छ । किसानको खेतबारी सिंचाई पनि हुन सकेको छैन् । म जनता बीच यिनै मुद्धा लिएर पुगिरहेको छु ।’

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ६ : ३८ बजे