५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लुम्बिनी कांग्रेसको घोषणापत्र सार्वजनिक, बुद्धजन्मस्थल केन्द्रमा



बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले कृषि, पर्यटन, उद्योग, व्यापार, ऊर्जा तथा सिँचाईलाई प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ।

शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास गर्दै स्वरोजगारी सिर्जनाका लागि महत्वपूर्ण कर्याक्रम ल्याउने घोषणा पत्रमा उल्लेख छ।

नेपाली कांग्रेस लम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बिहीबार एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्र सार्वजनकि गर्दै प्रदेश सभापति पुनले कांग्रेसले ठूला कुरा गरेर जनतालाई भ्रममा नपार्ने भएकाले कार्यान्वयन गर्न सक्ने योजना, कार्यक्रम तथा लक्ष्य मात्रै घोषणा पत्रमा समावेश गरेको बताए।

आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर कांग्रेस प्रदेश कमिटीले घोषणा पत्र तयार गरेको हो। लुम्बिनी प्रदेशलाई देशकै विकास र समृद्धिको केन्द्र बनाउने लक्ष्य घोषणा पत्रले लिएको छ। त्यसका लागि बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रित गरेर प्रदेश विकासका योजना अगाडी बढाउने भनिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशको मुख्य गौरब भएकाले लुम्बिनी विकास कोषलाई केन्द्र र प्रदेशको सामुहिक कार्यक्षेत्रभित्र राख्नु पर्नेमा जोड दिइएको छ।अहिले लुम्बिनी विकास कोष केन्द्र सरकार अन्तर्गत छ। लुम्बिनीमा बर्थिङ सेन्टर स्थापनालाई कांग्रेसले जोड दिएको छ।

बुटवल–भैरहवा, तुलसीपुर–घोराही र नेपालगञ्ज–कोहलपुर ट्राम अथवा रेल सम्भाव्यता अध्ययन गरी उपयुक्त योजनाअघि बढाउने कांग्रेसले जनाएको छ। लुम्बिनी प्रादेशीक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताललाई विशिष्टिकरण गर्ने अन्य सरकारी अस्पतालको स्तरबृद्धि गर्ने योजना ल्याइएको छ।

अत्यावश्यक औषधि कारखाना प्रदेशमा स्थापना गर्ने, दीर्घरोग तथा डायलाइसिस उपचार पूर्ण रूपमा निस्शुल्क बनाउने योजना कांग्रेसले ल्याएको छ। प्रदेशलाई उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा विकास गर्ने, प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक शिक्षालय, स्वरोजगार सिर्जना गरी वैदेशीक रोजगारीलाई घटाउन उद्यमशीलता प्रवर्द्धनका लागि विशेष योजना ल्याउने शंकल्प कांग्रेसले गरेको छ।

१०९ वटै स्थानीय तहमा यातायातको सहज पहुँच विस्तार गर्ने, कृषि अनुसन्धान केन्द्र स्थापना, मलको समस्या समाधानको दीर्घकालिन उपाय खोज्ने र मल कारखाना स्थापना गर्ने, कृषिलाई बजार र अनुशन्धानसँग जोडन पूर्वाधार निर्माण गर्ने योजना छन्।

मोतीपुर, नौवस्ता र धर्नालक्ष्मीपुरलाई औधोगिक तथा विशेष व्यापारिक केन्द्र बनाउने योजना घोषण पत्रमा समेटिएको छ। एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवा केन्द्रित कार्यक्रम गर्ने उल्लेख छ।

गरिब विपन्न र पीछडिएको वर्गको विस्तृत अभिलेखीकरण गरी आधारभूत सुविधा उपलब्ध गराउन विशेष कार्यक्रम र योजना ल्याइने घोषणा गरेको छ।

विभिन्न क्षेत्रसँग सम्बन्धित योजना र कार्यक्रममार्फत बहुआयामिक गरिवी उल्लेख्य घटाउने लक्ष्य कांग्रेस लुम्बिनी प्रदेशले लिएको हो । हाल रहेको बहुआयामिक गरिवीको सख्ंया २८.६ बाट घटाएर अबको पाँच वर्षमा ११ प्रतिशतमा झार्ने लक्ष्य घोषणा पत्रले लिएको छ ।

अव्यवस्थित तथा सुकुम्वासी समस्याको दीर्घकालिन समाधान गरी जनतालाई राहत दिने भनिएको छ । ‘सुकुम्बासी तथा बन क्षेत्र र नदी तट क्षेत्रमा अनाधिकृत रूपमा बसेका घरधुरीलाई आवश्यक नीति तथा योजना बनाई कार्यान्वयनमा ल्याउने छ,’ घोषणा पत्रमा लेखिएको छ । लैङ्गिक उत्तरदायी बजेट प्रणाल लागू गर्ने भनिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  ९ : १७ बजे