२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

रुपन्देहीमा–३ तीन दलीय गठबन्धनको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक



भैरहवा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीको तीन दलीय गठबन्धनले रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी मंसीर ४ गते हुने प्रतिनीधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

तीन दलीय गठबन्धनले रुपन्देही ३ मा प्रतिनीधिसभा सदस्य पदका लागि राप्रपाका दिपक बोहरा र प्रदेशसभा सदस्यका लागि ३ (१) मा जनता साजवादी पार्टीका महेन्द्र यादव र ३ (२) मा एमालेका तुलसी चौधरी उमेदवार हुन् ।

चुनावी प्रतिबद्धता पत्रमा गठबन्धनले पूर्वाधार, निर्मााण र विकास, शिक्षा, स्वास्थ्य तथा फोहोर प्रशोधन, पर्यटन, व्यवस्थित बस्ती तथा सहरी विकास, प्रकृतिक श्रोतको व्यवस्थापन, सहकारी तथा समाजसेवा, कृषि, हाटबजार पशुपालन र सिँचाई, विपद् व्यवस्थापन, भाषा साहित्य संस्कृति र ऐतिहासिक एवम् सांस्कृतिकस्थल, उद्योग व्यापार तथा बन्द व्यापार, विद्युत्, सूचना तथा सञ्चार, युवा तथा रोजगार, खेलकुद, सामाजिक सुरक्षा तथा मानवीय विकास, सुशासन विषयलाई समेटेर १ सय ७७ बुँदा रहेका छन् ।

तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध अवधारणा, बेलहिया बुटवलको छ लेन सडका आवश्यकता अनुरुपको आकाशे पुल र अन्डरपासको निर्माण, प्रादेशिक सरकारी मेडिकल कलेजको स्थापना, भैरहवा क्षेत्रमा उद्योग व्यापार मेलाका लागि भैरहवा मण्डपको व्यवस्था, विभिन्न स्थानमा सडक निर्माण, दानव नदीमा पुल, विभिन्न सडक बिस्तार तथा स्तरोन्नति, प्रादेशिक बसपार्कको निर्माण, भैरहवामा थप व्यवस्थित र आकर्षित, भैरहवा टेलिफोन र विद्युत्‌का तार अन्डरग्राउन्ड लगायतका प्रतिबद्धता पूर्वाधार निर्माण र विकास समावेश गरिएको छ ।

शिक्षा अन्तर्गत रोजगारी तथा प्राविधिक शिक्षा, विपन्नताका कारण शिक्षाको अवसरबाट कसैलाई पनि बञ्चित नगरिने, शिक्षाको गुणस्तरियता, भैरहवा क्याम्पसमा इञ्जिनियरिङ विषयको पढाइ सञ्चालन भनिएको छ । आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी, सर्व अस्पतालमा मृग्रौला, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरी जस्ता रोगको निस्शुल्क उपचारको व्यवस्था, जटिल स्वास्थ्य समस्याका रुपा देखा पर्दै जान थालेका रोगको परीक्षण तथा उपचारमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन, भैरहवालाई व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गरिने, थारु संग्रहालयको निर्माण, बाल पार्क, बौद्ध सर्किटको विकास, बेलहिया सुनौली नाकालाई व्यवस्थित बनाइने, लुम्बिनी, कपिलबस्तु रामग्राम र देवदहलाई समेटेर एकीकृत बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गरिने प्रतिबद्धता गरिएको छ ।

सुकुम्बासी समस्या समाधान, जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाइने, भैरहवाको कारागारलाई स्थानान्तरण, सहकारीलाई टोलटोलमा पुऱ्याउने, कृषि यान्त्रिकीकरण तथा मल बीउ र सिँचाईको सुविधा, निस्शुल्क भेटेनरी सेवा, कोल्ड स्टोरको निर्माण, उद्योगमैत्री नीति अवलबम्बन र प्रेसलाई पूर्ण स्वतन्त्रता राखि आमसञ्चारलाई व्यावसायिक र जिम्मेवार बनाइने प्रतिबद्धता गरिएको छ ।

उक्त क्षेत्रबाट प्रतिनीधिसभा सदस्य पदका उमेदवार दिपक बोहराको तर्फबाट बोल्दै राप्रपाको केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी रुपन्देही क्षेत्र नबर ३ की संयोजक स्वाती थापाले आफ्नो क्षेत्रमा दिगो विकासका लागि काम गर्दै समृद्ध रुपन्देही र समृद्ध नेपाल अभियान अन्तर्गत गौरव बोध हुने कार्य गर्ने प्रतिबद्धता गरिन् । उमेदवार बोहरा कोभिड संक्रमणका कारण चिकित्सकले केही दिन नबोल्न सल्लाह दिएका कारण उनको तर्फबाट अन्य नेताले बोल्ने गरेका छन् ।

बोहराले जीवनभर रुपन्देहीको विकासका लागि प्रयत्नशिल रहेको र जनपक्षीय काम गर्दै आएकाले जीवनभरको राजनीति संघर्ष र अनुभवलाई समृद्ध रुपन्देहीमा परिणत गर्न संकल्पीत रहेको बताए । ‘म रुपन्देहीकै माटोमा हुर्किएको हुँ,ु बोहराले भने, ‘काम गर्ने अवसर दिनुस् ।ु

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  २ : ०९ बजे