२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्दै



डडेल्धुरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधवार काठमाण्डौबाट धनगढी हुँदै बिहीवार यहाँ आइपुग्नु भएको हो ।

देउवाले बिहीवार अस्ति अमरगढी र हिजो शुक्रवार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुुसार देउवाले आज बिहान ११ बजेअजयमेरू गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावी सभामा सहभागी हुनुभएको छ । यस्तै दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।

देउवाले भोलि बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्ने साउदले जानकारी दिनुभयो । देउवा भोलि नै काठमाण्डौ फर्कने र सात वटै प्रदेशमा हुने चुनावी सभामा पुग्ने कार्यक्रम छ ।

डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका लागि देउवा, कांग्रेस वीपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलको उम्मेदवारी रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९ शनिबार ००:००  १२ : ५१ बजे