२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

५ लाखभन्दा बढी नागरिक मताधिकारबाट वञ्चित हुने



काठमाण्डौ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।

राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुङ्गोमा पुग्न नसक्दा ५ लाखभन्दा बढी नागरिक नागरिकताविहीन भएका हुन् । तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित हुने भएका छन्। निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको चुनावमा मतदानका लागि योग्य मतदाताको सङ्ख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ ।

जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरुष ९१ लाख ४० हजार ८ सय ६ जना र अन्य १ सय ८५ जना रहेका छन् । तर नेपाली नागरिकता ऐन २०६३ अनुसार २०४६ चैत मसान्तभित्र नेपालमा जन्मिएका नागरिकका सन्तान नागरिकताबाट वञ्चित भएका हुन् ।

तात्कालीन समयमा २ वर्षभित्र संविधान सभाको चुनावअघि नै त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेशअनुसार १ लाख ९० हजार ७ सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए । तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान अहिले नागरिकताविहीन भएका हुन् । नागरिकताको सम्बन्धमा लामो समयदेखि काम गर्दै आउनुभएका अधिवक्ता सविन श्रेष्ठका अनुसार, तत्कालीन समयमा सरकारद्वारा भएको अल्पकालीन व्यवस्था अनुसार जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तान अहिले नागरिकताविहीन भएका हुन् ।

श्रेष्ठले भन्नुभयो ुसंविधानअनुसार नागरिकता ऐनमा संशोधन हुन सकेन । नागरिकता सम्बन्धी ऐन, जुन संसद्ले पारित गरेर पठाएको ऐनलाई पनि प्रमाणीकरण नभएको कारणले गर्दा अझसम्म पनि जन्मसिद्धका सन्तानले नागरिकता पाउनसकेका छैनन् । तर संविधानमा स्पष्टरुपमा जन्मसिद्धका सन्तानहरुले वंशजको नागरिकता पाउने भन्ने व्यवस्था आएको छ । यो व्यवस्था यथाशीघ्र कार्यान्वयन गरेर जन्मसिद्धका सन्तानहरु जसको आमा पनि नेपाली र बुबा पनि नेपाली हो, जन्मेको पनि नेपालमा नै हो, उनीहरुलाई धेरै लामो समयसम्म नागरिकताविहीन बनाएर राख्नु भनेको दुर्भाग्यपूर्ण अवस्था हो।ु

जन्मसिद्ध नागरिकता पाएका सन्तानबाट जन्मेका बाहेक अन्य विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकको तथ्याङ्क भने बढी रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  २ : ०० बजे