४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तु क्षेत्र नम्बर १ मा काँग्रेस एकजुट छ, गठबन्धनले जित्छः न्यौपाने



मायादेवी अनलाइन, जितपुर । नेपाली काँग्रेस कपिलवस्तुका पाका नेता विष्णु न्यौपानेले आगामी निर्वाचनमा काँग्रेसको मत तोडमोड नहुने बताएका छन् । निर्वाचनको सम्मुखमा जिल्लबाहिर रहेका कारण घरदैलोमा हिँड्न नभ्याएका नेता न्यौँपाने विहिबारबाट चुनावी प्रचारमा हिँड्ने क्रममा सो कुरा बताएका हुन् ।

गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा माओवादीका सचिव चक्रपाणी खनाल (बलदेव) ले टिकट पाएपछि काँग्रेसभित्र असन्तुष्टि छ । उम्मेदवारी मनोनयनपछि त्यो असन्तुष्टि विस्तारै कम भए पनि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बलदेवविरुद्ध ललित गुरुङले बागी उम्मेदवारी दिए पछि तनाव छ । उनी कुनै हालतमा ब्याक हुने स्थितिमा देखिन्नन् । पार्टीलाई असहयोग गरेका कारण उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको अवस्था छ । यही अवस्थाकाबीच न्यौपानेले नेपाली काँग्रसमा यस्तो कुरा नौलो नभएको बताए ।

उनले भने ‘हरेक चुनावमा काँग्रेसमा यस्तै लफडा र असन्तुष्टि चुलिन्छ तर निर्वाचनको बेलासम्म सबै ठिकठाक हुन्छ । बलदेवविरुद्ध गुरुङको उम्मेदवारीले समस्या त सिर्जना गरेको छ तर मलाई विश्वास छ उहाँ अन्तिमसम्म लयमा फर्कनु हुन्छ । काँग्रेस एकजुट भएर संविधान रक्षा गर्ने कुरामा चुक्दैन ।’

सुरुमा असन्तुष्टि देखिएर अन्तिमसम्म एकजुट हुनु काँग्रेसको मुख्य विशेषता रहेको न्यौपानेले बताए । उनले प्रदेश सभा सदस्यतर्फका उम्मेदवार डोलकराम घिमिरेबारे पनि कुनै समस्या नरहेको बताउँदै गठबन्धनका दुवै उम्मेदवारले सजिलै चुनाव जित्ने दावी गरे ।

न्यौपानेले काँग्रेसका नेता कार्यकर्ता अरु पार्टीकाजस्ता काँचा नरहेको समेत सुनाए । ललित गुरुङको सन्दर्भमा उनले थपे ‘गुरुङ पाका नेता हुनुहुन्छ । यदि उहाँले अन्तिमसम्म अड्डी कसे पनि अरु नेताकार्यकर्ता अचेत छैनन् । उनीहरु विमतीका बाबजुत पनि गठबन्धनका उम्मेदवारलाई भोट हाल्छन् र विजयी बनाउँछन् । किनकि गठबन्धन रहर होइन, राष्ट्रिय आवश्यकता हो भन्ने कुरा काँग्रेसका सबैले बुझेका छन् । कपिलवस्तुमा अन्तिममा सबै एक भएर काँग्रेसले गठबन्धनलाई जिताउँछ ।’

अहिले जेजस्तो चित्र देखिए पनि चुनावसम्म सबै मिलेर जाने उनले दोहोर्याए । देशभर अब गठबन्धनको सरकार बन्ने उनको दावी छ । विपक्षीको भ्रममा नपर्न र अरुको लहैलहैमा नलाग्न समेत उनले सबै नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २४ कार्तिक २०७९ बिहिबार ००:००  ५ : ३८ बजे