८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

चुनाव जितेपछि गगन थापा नै प्रधानमन्त्री बन्ने दाबी



काठमाडौं ।

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्‍याए।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे। अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरू जस्ता विज्ञहरुको टिम रहेकोसमेत खुलासा गरे।

थापाले कोभिड महामारीमा राजनेताको छवि बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वाससमेत व्यक्त गरे।

अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई विमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताए।

थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उनले नेता थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए। अब पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाइ थियो।

अर्थविद् थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउनसक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्नेसमेत बताए। उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए।

अर्थविद् वाग्लेले मुलुक पछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताए।

प्रकाशित मिति : २६ कार्तिक २०७९ शनिबार ००:००  २ : १५ बजे