३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

दाङमा नदीमा डुबेर बालिकाको मृत्यु, एक जना बेपत्ता



दाङ ।

दाङको लमही-४ सेमरहवामा राप्ती नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। अर्का एक बालक डुबेर बेपत्ता भएका छन्। मृत्यु हुनेमा लमही-४ का अंकिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

शनिबार साथीहरूसँग नुहाउन गएकी ती बालिका डुबेर बेपत्ता भएकी थिइन्। बेपत्ता बालिकालाई खोजी गर्दै जादा बगेको स्थानदेखि करिब ४-५ किलोमिटरको दूरीमा शव बगिरहेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारेका हुन्।

त्यस्तै दाङको देउखुरीमा एक बालक नुहाउने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गढवा गाउँपालिका-१ बड्हराका रामगोपालका छोरा १६ वर्षीय निश्चल यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए।

शनिबार मध्यान्न १२:१५ बजेको समयमा बड्हरा झोलुङगे पुल नजिक राप्ती नदीमा नुहाउने क्रममा ती बालक बेपत्ता भएको प्रहरीले बताएको छ।

बालक नदीमा डुबेर बेपत्ता भएपछि कपडा धुन गएका महिलाहरूले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि अहिलेसम्म ती बालक फेला नपरेको र खोजी कार्य जारी रहेको डीएसपी गौतमले बताए। बेपत्ता बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत हुन्।

प्रकाशित मिति : २८ कार्तिक २०७९ सोमबार ००:००  ४ : १४ बजे