१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बाँकेमा ३५ प्रतिशत मतदान



नेपालगन्ज ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा उत्साहपूर्वक मतदान भइरहेको छ । हालसम्म बाँकेमा ३५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म एक लाख १८ हजार ४०९ मत खसेको छ । मतदान स्थलहरुमा मतदाताहरू उत्साहपूर्वक मतदान गरिरहेका छन् । बिहानैदेखि मतदाताहरू मतदानका लागि लाइनमा छन् ।

बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार एक सय ३८ वटा निर्वाचनस्थल रहेका छन्। त्यसमा एक सय १४ वटा निर्वाचन केन्द्र संवेदनशील सूचीमा रहेका छन्।

संवेदनशील सूचीका केन्द्रहरू नेपालगन्जसहित प्रायस् भारतीय सीमा जोडिएका ठाउँमा रहेका छन्। प्रमुख जिल्ला अधिकारी खत्रीले साम्प्रदायिक सदभाव खल्बलिन सक्ने र भारतसँग सीमा जोडिएका केन्द्रहरू संवेदनशील सूचीमा रहेको बताए।

बाँकेमा तीन लाख ३२ हजार २ सय ३१ जना मतदाता रहेका छन्। क्षेत्र नं. १ मा एक लाख २१ एक हजार एक सय, क्षेत्र नं। २ मा ९७ हजार ८ सय ९ र क्षेत्र नं। ३ मा एक लाख १३ हजार ३ सय २२ जना मतदाता रहेका छन्।

तीन जना प्रतिनिधिसभा र ६ जना प्रदेशसभा सदस्यका लागि ८९ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। जिल्लामा ६ हजार दुई सय जनशक्ति खटिएको बताइएको छ । त्यसमध्ये तीन हजार एक सय ५० जना सुरक्षाकर्मी रहेका छन्। एक हजार नौ सय ५९ जना म्यादी रहेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०७९ आइतबार ००:००  २ : ५३ बजे