२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मुस्ताङमा मतगणना सुरु : कांग्रेसका गौचनको अग्रता



म्याग्दी।

मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ।

एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो। त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो।

आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिएका छन्। उनले एक हजार ६८ र नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ। दुई स्थानमा मतगणना भइरहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  १० : ४३ बजे