११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मुलुकलाई राजनीतिक स्थायित्वमा लैजान असफल भएः शंकर पोख्रेल



दाङ ।
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने प्रयास असफल भएको प्रतिक्रिया दिएका छन् । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएपछि पोख्रेलले शुक्रबार बिहान दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर उक्त प्रतिक्रिया दिएका हुन् । 

मतदातालाई धन्यवाद दिने क्रममा पोख्रेलले निर्वाचन नतिजाले देशमा थप अस्थिरताको संकेत गरेको बताए ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी नेता रेखा शर्मासँग पराजित भएपछि पोख्रेलले निर्वाचनको समग्र समीक्षा आफ्नो पराजयलाई मुलुकको राजनीति र पार्टी थप सुदृढ बनाउने अवसरका रूपमा लिएको बताए । अब आफ्नो ध्यान स्थिर राजनीतितर्फ केन्द्रीत हुने उनको भनाइ थियो ।

अब सरकार एजेण्डामा आधारित भएर निर्माण हुनुपर्ने धारणा पनि पोख्रेलले राखे । मुलुकको समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक परेको उनको भनाइ थियो । धेरै राजनीतिक दलभन्दा एउटा बलियो शक्ति जरूरी भएको र आफू अब त्यसतर्फ क्रियाशील हुने योजना उनले सुनाए ।

दाङ-२ बाट सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी थिइन् भने एमाले महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए । शर्माले १ सय ९६ मतान्तरले पोख्रेललाई पराजित गरेकी हुन् ।

शर्मा २०७० मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भई २०७२ मा सामान्य प्रशासनमन्त्री तथा संविधानसभामा माओवादी सचेतक भएकी थिइन् ।उनी २०७४ मा पनि समानुपातिक प्रणालीबाटै सांसद बनेकी थिइन् ।

पोख्रेल २०५१ मा सांसद् तथा २०६४ मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भई २०६६ मा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । उनी २०७४ मा दाङबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ४ : ४१ बजे