१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुनावी परिणामले बरालद्धारा राजीनामा



बुटवल ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्।

बरालले आजैको मितिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्।

‘अध्यक्ष बरालले लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको पराजय भएका कारण राजीनामा दिनुभयो’, उनीनिकट पत्रकार रुद्रहरी कुँवरले भने।

बराल गुल्मीको निर्वाचन क्षेत्र १ ‘१’ मा प्रदेशसभा सदस्यका लागि उम्मेदवार भई नेकपा एमालेका चिन्तामणि पाण्डेसँग पराजित भएका थिए। बराललाई माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो।

पछिल्लो समय लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको नेतृत्व गर्दै सरकार बनाएको नेकपा माओवादी केन्द्रले सुखद परिणाम निकाल्न नसकेपछि नेतृत्वको आलोचना हुन सुरू गरेको थियो।

पार्टीले पराजय भोग्नुका पछाडि प्रदेशसभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका सिट बाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको,उम्मेदवार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्बोधन गर्न नसकेकोलगायत कारण रहेको बरालले उल्लेख गरेका छन्।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा समानुपातिकसहित १९ सिट जितेको थियो। यसपटक नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले ५ सिटमात्र जितेको छ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ८ : १० बजे