१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पाँचौँ पटक सांसद बन्ने खाँणको प्रयास असफल



बुटवल ।
गृहमन्त्री बालकृष्ण खाँणको पाँचौँ पटक सांसद बन्ने प्रयास असफल भएको छ। ३१ वर्षअघि नै संसद् छिरेका उनी चार पटक सांसद भइसकेका छन्। 

२०४८ सालमा बुटवल र आसपासको क्षेत्र पर्ने तत्कालीन रुपन्देही ३ बाट खाँण प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

२०५१ सालमा भएको चुनावमा सोही क्षेत्रबाट एमालेका मोदनाथ प्रश्रितसँग उनी पराजित भएका थिए। २०५६ को चुनावमा खाण उम्मेदवार बनेनन्। 

२०६४ सालको संविधान सभाको चुनावमा रुपन्देही ३ बाट चुनाव जितेर सभासद बने। त्यसबेला ३ नम्बर क्षेत्र बुटवल र भैरहवाबीचमा कायम भएको थियो। 

२०७० सालको संविधान सभाको चुनावमा पनि खाँण सोही क्षेत्रबाट दोहोरिएका थिए। घनश्याम भुसालसँगको कडा प्रतिस्प्रर्धामा सयभन्दा कम मतको अन्तरमा खाँण दोस्रो संविधान सभामा प्रवेश गरेका थिए।

२०७४ सालको चुनावमा आफू समानुपातिकमा बसेर खाँणले दीपक बोहरालाई सघाएका थिए। पाँच वर्षअघि रुपन्देही ३ मा कांग्रेस र राप्रपाबीच तालमेल भएको थियो। 

उनै बोहरासँग गृहमन्त्री खाँण यो पटक पराजित भएका छन्। परायजसँगै १५ वर्षपछि उनी संसदबाहिर रहनुपरेको छ। 

रुपन्देहीबाट जति पटक चुनाव लडे उनी क्षेत्र नम्बर ३ बाटै चुनाव लडेका छन्। यद्यपि भूगोल भने फरक थियो। 

सुरुमा चुनाव लडेको बुटवल र आसपासका ठाउँ, संविधान सभा जितेको बुटवल र भैरहवाबीचको क्षेत्र र पछिल्लो पटक चुनाव लडेको भैरहवा र आसपासको ठाउँमा क्रमश क्षेत्र परिवर्तन भएर रुपन्देही ३ को रुपमा रहँदै आएको छ। 

खाणले विगतमा कांग्रेसको दुवै भातृसंस्थाको नेतृत्व गरिसकेका छन्। २०४६ सालको जनआन्दोनताका उनी नेपाल विद्यार्थी संघको अध्यक्ष थिए। २०५५ सालमा नेपाल तरुण दलको अध्यक्ष बनेका थिए। उनी पार्टीमा प्रभावशाली समेत मानिन्थे। 

कांग्रेसको १३ औं र १४ औं महाधिवेशनबाट खाँण पदाधिकारी बन्ने चर्चा थियो। तर उनले मौका पाएनन्। १३ औँ महाधिवेशनपछि सभापति देउवाले प्रकाशरण महतलाई सहमहामन्त्री मनोनित गरे। १४ औँ महाधिवेशनमा देउवा पक्षबाट प्रकाशशरण नै महामन्त्रीबाट उम्मेदवार बने। 

खाँण एक पटक राज्यमन्त्री र योसँगै ३ पटक मन्त्री बनेका छन्। शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा गृहमन्त्री खाँण दोस्रो मर्यादाक्रममा छन्। यसअघि रक्षामन्त्री भइसकेका र हाल गृहमन्त्री समेत रहेका खाँण प्रधानमन्त्रीको दाबेदार भएको समेत चर्चा हुने गर्दथ्यो।

आगामी संसदमा देउवा संसदीय दलको नेता नलडेमा खाँण अघि सर्न सक्ने भनेर पनि विश्लेषण हुने गरेको थियो। चुनावी प्रचारको क्रममा कार्यकर्ताहरुले उनलाई भावी प्रधानमन्त्री भनेर मत माग्ने समेत गरेका थिए। तर खाँणको संसदीय राजनीतिको यात्रा तत्काललाई रोकिएको छ। 

यसपटक दीपक बोहरासँगको उनको चुनावी प्रतिस्पर्धा निकै कडा रह्यो। मनोनयन दर्ता गरेयता गृहमन्त्री खाँण अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित थिए। बहालवाला गृहमन्त्री खाँण र पञ्चायतकालदेखि पटकपटक मन्त्री बन्दै आएका दीपक बोहराबीचको प्रतिस्पर्धा भैरहवामा मात्र नभई देशभर चासोको विषय बनेको थियो। 

दुई हस्तीबीचको कडा प्रतिस्पर्धा मतगणनाको क्रममा समेत देखा पर्यो। सुरुदेखि नै झिनो अन्तरमा खाँण र बोहरा अघिपछि हुने क्रम चलिरहेको थियो। मतगणना उत्तरार्धतिर पुग्दा भने बोहराले मतान्तर क्रमशः बढाउँदै लगे। अन्ततः २०४२ मतअन्तरले गृहमन्त्री खाँण बोहरासँग पराजित भए।

खाँणको पराजयसँगै रुपन्देहीको प्रतिनिधि सभाका पाँच वटै क्षेत्र कांग्रेसले गुमाएको छ। प्रदेश सभाका १० क्षेत्रमध्ये २ क्षेत्र मात्र कांग्रेसले जितेको छ। नेपालखबरबाट

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ८ : २० बजे