१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

देशमा परिवर्तनको खाँचो छ : चन्द्र भण्डारी



बुटवल ।

नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको नेतृत्व गर्ने अनुहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । विगत ३० वर्षदेखि एउटै अनुहारले मुलुकको नेतृत्व गरेको बताउँदै उनले परिवर्तनको खाँचो रहेको बताएका हुन् । प्रेस यूनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पुराना तथा पाका नेताहरुले अब विश्राम लिनुपर्ने बेला भएको स्पष्ट पारे ।

देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा जानु पर्ने बताए । उमेरले नभई सोच र इच्छाशक्तिले युवाको निर्धारण गर्ने बताउँदै उनले आगामी सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि किन गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे । दलका नेताहरु सरकार गठन र प्रधानमन्त्री को भन्ने विषयमा केन्द्रित भएको बेलामा अब बन्ने प्रधानमन्त्रीले के–के गर्न सक्ने भन्ने विषय महत्वपूर्ण रहेको भण्डारीले बताए ।

वर्तमान समयमा दलहरुले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा विभिन्न अडकलवाजीहरु चले पनि सबैसँग छलफल गरेर निश्कर्षमा जानुपर्ने उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९ शनिबार ००:००  १२ : १९ बजे