१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

महाकालीमा बनाइएको तटबन्धबारे नेपालले आज भारतलाई पत्र पठाउँदै



काठमाण्डौ ।

महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले आज भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो ।

गृह मन्त्रालयले स्थलगत विवरणसहित हिजो परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी छ । गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले बताउनुभएको छ । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न पत्राचार गरेको हो ।

दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पनि जोड दिनुभएको छ । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए ।

महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतीय पक्षलाई आग्रह गरिसकेको छ ।

बङ्गाबगड रिङ्गलताल क्षेत्रभन्दा माथि सहमति नभइ थप काम नगर्न भारतीय पक्षलाई भनेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो । भारतले दार्चुलाको सदरमुकाम खलङ्गा पारिपट्टि महाकाली नदीमा एकतर्फी बाँध बनाएका कारण बर्खामा नेपालतर्फको भूभाग बग्ने र डुब्ने जोखिम छ ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ७ : ५३ बजे