१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीको मुख्यमन्त्री कार्यालय रातारात दाङ सारियो



रूपन्देही ।

स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढेपनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने तयारी रहेको उनले बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो । सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।

सामाग्री सारेको मन्त्रालयका कर्मचारी र कतिपय सचिवालयका कर्मचारीले समेत मंगलबार बिहान मात्र जानकारी पाएका छन् । मुख्यमन्त्री कार्यालयका एक अधिकृतका अनुसार सोमबार दिनभर पनि सामाग्री सार्ने विषयमा कुनै छलफल र तयारी मन्त्रालयमा थिएन । ‘तर, राति अचानक सारिएछ, अहिले हल्ला सुनेको छु,’ ती अधिकृतले भने, ‘देउखुरीमा कहाँ राखिएको छ भन्ने कुनै जानकारी छैन ।’

मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह विकले देउखुरीमा राति लगिएका सामाग्री अहिले राप्ती प्राविधिक शिक्षालयको प्रशासनिक भवनमा व्यवस्थापन गर्न लागिएको बताए । ‘देउखुरीमा कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने सामान ल्याइएको हो,’ उनले भने, ‘दिउँसोमा काममा डिस्टर्ब हुने भएकाले कार्यालय बन्द भएपछि सारिएको हो ।’ उनले सामान लोड गर्ने क्रममा राति भएको दाबी गरे ।

मुख्यमन्त्री केसीले अबको आफ्नो अन्तिम मन्त्रीपरिषद् बैठक देउखुरीमै बसालेर आफू बिदा हुने गरी आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद्को बैठक कक्ष एवं सचिवालय मात्र व्यवस्थापन गर्न खोजेको मुख्यमन्त्री कार्यालयका एक उपसचिवले बताए । ‘मैले बुझे अनुसार सबै सार्नेभन्दा पनि अबको पहिलो मन्त्रिपरिषद् बैठक देउखुरीमै बसाल्ने उहाँको प्रयास हो,’ उनले भने, ‘त्यसपछि के हुन्छ भन्ने निर्णय त्यसपछिकै मुख्यमन्त्रीले गर्ने भएकाले अहिले सारिएका बाहेक अन्य सामान र कर्मचारी सर्ने सम्भावना न्यून छ ।’

प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरुको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ । स्रोतका अनुसार मुख्यमन्त्री केसीले आफ्नो सचिवालय, मन्त्रीपरिषद्को कार्यालयसँगै अर्थ तथा सहकारी मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालय पनि एक साताभित्रै देउखुरीमै सार्ने गरी व्यवस्थापन गर्न पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिएका छन् ।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित ४ सांसदहरू लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नया बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए । कर्मचारीहरुले समेत पूर्वाधार बिना राजधानी सार्दा समस्या हुने भन्दै नसार्न मागसहित ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  ११ : २३ बजे