१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ : प्रधानमन्त्री देउवा



काठमाण्डौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ । 

आज मङ्गलवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्रीलाई बालुवाटारमा मेलम्ची खानेपानीको बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि देउवाले यस्तो बताउनुभएको हो । उहाँले मेलम्ची खानेपानी काठमाण्डौका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाण्डौमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उहाँको सपना पूरा भएकोप्रति खुसी व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिवसहितका विज्ञ टोली राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘विकास समिति किन खारेज भयो त्यो सम्बन्धमा पनि कुरा गरौँ । नयाँ बनाउनुपर्ने भए पनि बनाउँला के भयो र रु’

कांग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अवलोकनपछि टोलीले त्यहाँको समस्याका बारेमा र काठमाण्डौवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराउनुभएको हो । ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काममा अन्योल देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९ मंगलबार ००:००  २ : ३४ बजे