७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

गुजरातमा भाजपाको सानदार जित, हिमाचलमा कंग्रेस



नयाँदिल्ली ।

गुजरातमा २७ वर्षदेखि सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) भारी बहुमतले विजयी भएको छ । चुनावी परिणामअनुसार भाजपा गुजरातमा हालसम्म सबैभन्दा बढी सिट जित्ने दल पनि बनेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहप्रदेशमा विधानसभाका १ सय ८२ मध्ये भाजपा एक्लैले १ सय ५६ सिट जितेको छ । कंग्रेस १७ र आम आदमी पार्टी (आप) ५ सिटमा सीमित भएका छन् । अघिल्लो पटक ७७ सिट जितेको कंग्रेसले यसपटक ६० सिट गुमाएको छ । हारको जिम्मेवारी स्विकार्दै कंग्रेस प्रदेश अध्यक्ष रघु शर्माले पदबाट राजीनामा दिएका छन् ।

२०१७ को चुनावमा ९९ सिट जितेको भाजपाले अघिल्लो पटकभन्दा ५७ सिट बढी जितेको छ । भाजपाले प्रधानमन्त्री मोदीकै बलमा गुजरातमा चुनाव लडेको थियो । चुनावी प्रचारप्रसारमा ‘रोड शो’ देखि अनेकौं सभाहरूको नेतृत्व मोदीले गर्दै आएका थिए । मतदानपछि सार्वजनिक भएका सबैजसो एक्जिट पोलले भाजपाले सानदार बहुमत ल्याउने आकलन गरेका थिए । परिणाम पनि त्यहीअनुसार आएको छ । भाजपाले गुजरातमा लगातार सातौं पटक सरकार बनाउने भएको छ ।

सन् १९९५ देखि गुजरातको सत्तामाथि भाजपाको नियन्त्रण छ । सन् २००१ देखि २०१४ सम्म मोदी मुख्यमन्त्री थिए । मोदी प्रधानमन्त्री भएपछि भएको दुईवटा विधासभसभा चुनाव पनि भाजपाले जितेको हो ।

अरविन्द केजरीवाल नेतृत्वको आप गुजरातमा पहिलो पटक चुनावी मैदानमा उत्रिएको हो । गुजरात विधानसभामा प्रवेशसँगै आप राष्ट्रिय पार्टीसमेत भएको छ । दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको आपले गुजरातमा १३ प्रतिशत भोट प्राप्त गरेको छ । स्थापनाको १० वर्षमै राष्ट्रिय पार्टी बन्न सफल भएकामा केजरीवालले खुसी व्यक्त गरेका छन् । उनले गुजरातका जनताले आपलाई राष्ट्रिय पार्टी बनाइदिएको भन्दै धन्यवाद दिएका छन् ।

लोकसभाको चुनावमा ६ प्रतिशत वा ४ राज्यको विधानसभा निर्वाचनमा ६ प्रतिशतभन्दा बढी भोट ल्याएको राजनीतिक दलले भारतमा राष्ट्रिय पार्टीको मान्यता पाउँछ । यसअघि आपले गोवामा २ सिट जित्दै ६ प्रतिशत मत कटाइसकेको छ । हिमाचलमा सिट हासिल नगरे पनि मत ६ प्रतिशत आएकाले आप राष्ट्रिय पार्टी बन्ने बाटो खुलेको छ । भारतमा करिब ४ सय राजनीतिक दल रहेकामा ७ वटा पार्टीले मात्रै राष्ट्रिय मान्यता पाएका छन् । त्यो सूचीमा आप थपिँदै छ ।

पहाडी राज्य हिमाचलमा भाजपाले हार व्यहोरेको छ । त्यहाँ प्रत्येक चुनावबाट सरकार फेरिने परम्परालाई मतदाताले यसपटक पनि कायम राखेका छन् । सत्तारूढ भाजपाले आवश्यक बहुमत सिट ल्याउन सकेन । विपक्षी कंग्रेसले बहुमत सिटमा जित हासिल गरेको छ ।

६८ सिटको विधानसभामा कंग्रेसले ४० र भाजपाले २५ सिट जितेका छन् । तीन सिटमा निर्दलीय उम्मेदवार विजयी भएका छन् । पराजयसँगै भाजपाका मुख्यमन्त्री जयराम ठाकुरले राजीनामा दिएका छन् । यसै वर्षको प्रारम्भमा उत्तरप्रदेश, उत्तराखण्ड, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचन भएको थियो । पञ्जाबमा आपले र बाँकी तीन राज्यमा भाजपाले जित हासिल गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९ शुक्रबार ००:००  ७ : ०० बजे