१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानले सघाउने



काठमाडौं ।

जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने र कृषि उपकरण उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युकाताले स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालसँग अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत रहेको यो परियोजनामा १ करोड नेपाली रुपैयाँ बराबरको वित्तीय अनुदान समावेश छ । यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायीकरणका लागि कृषि उपकरण र प्रशोधन केन्द्र स्थापनाको लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

यो परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका–८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ ।

बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्ये आम्दानी गर्न सकिरहेका छैनन् । परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूताावासले विश्वास लिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९ शुक्रबार ००:००  १ : ०६ बजे