१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा



काठमाडौं ।

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४(३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २(२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे ।

अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके । पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे ।तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । मोलिनाले मेस्सीको पासमा गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो । खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २ ० को अग्रता दिलाए ।

मेस्सीको यो दशौँ विश्वकप गोल हो । यस गोलसँगै मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २(१ को स्थितिमा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपेको स्थानमा मैदान छिरेका थिए।

त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २(२ गोलको बराबरीमा सकिएको थियो । उनले कुपमाइनर्सको चलाखीपूर्ण फ्रिकिकमा गोल गरेका हुन् ।

अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९ शनिबार ००:००  ६ : ०३ बजे