१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाको आरोप  



एजेन्सी ।

रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । सैन्य सहयोगले दुई देश रुस र इरानबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीको आरोप छ ।

ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । गएको महिना इरानले पनि रुसलाई सयौँ ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो ।

युक्रेनले पनि रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आरोप लगाएको थियो । साथै बेलायत, अमेरिकालगायतका देशले विरोध पनि गरेका थिए । ती देशले मध्यपूर्व र अन्तर्राष्ट्रिय सुरक्षामा आफ्ना साझेदारप्रति सुरक्षा खतरा बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इरानले सुरुमा रुसलाई कुनै पनि ड्रोन पठाएको अस्वीकार गरे पनि पछि स्वीकार गरेको थियो । युक्रेनमा आक्रमण गर्नु अघि केही ड्रोन आपूर्ति गरेको इरानको दाबी छ । किर्बीले इरान र रुसबीच ड्रोन उत्पादन गर्ने साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि हानिकारक हुने टिप्पणी गर्नुभएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९ शनिबार ००:००  १२ : ५८ बजे