१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

किर्ते गरी ७० लाख रकम झिकेको आरोपमा महन्थ पक्राउ



भैरहवा ।

रुपन्देही प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । चेकमा नक्कली हस्ताक्षर गरि रकम चलाएको आरोपमा महन्थलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेका छन् । उनलाई सोही आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको उनले बताए ।

महन्थ वैष्णवको नाममा रुपन्देही स्थित मेगा बैंकको खातामा रहेको रु ७० लाख मौज्दात भएको खाता सरकारले रोक्का राखेको थियो । महन्थले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालयको किर्ते दस्तखत गरि उक्त खाता फुकुवा गराएको र त्यसमा रहेको रकम धनुषाका समर यादवको नाममा ट्रान्सफर गरेको प्रहरीको आरोप छ ।

बैंकलाई जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्दा बैंकमा पेश गरिएको पत्रमा चलानी नम्बर पनि अर्कै पत्रको रहेको अर्यालले बताए । महन्थ बिरुद्ध ठगिको जाहेरी परे पछि उनलाई पक्राउ गर्न रुपन्देही प्रहरीले टोली खटाएको थियो । महन्थलाई पक्राउ गरि सकिएको र अहिले रुपन्देही ल्याउदै गरेको अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  २ : ३८ बजे