१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी चिनी उद्योगको आवास भवन अलपत्र



नवलपरासी ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग परिसरमा रहेका एक दर्जन आवास भवनहरु रेखदेखको अभावमा अलपत्र परेका छन् ।

चीन सरकारको आर्थिक सहयोगमा बनेको देशकै ठूलो लुम्बिनी चिनी उद्योग निजीकरण भएपछि सञ्चालको लापर्वाहीका कारण उद्योगभित्र र उद्योग परिषर बाहिर रहेका करोडौं रुपियाँ लगानीका दर्जनभन्दा बढी आवास भवनहरु रेखदेखको अभावमा अलपत्र छन् ।

लुम्बिनी चिनी उद्योगको उत्तरतर्फको उद्योगको बाहिरी भागमा र उद्योग परिषरको दक्षिणी भागमा रहेका दर्जनभन्दा धेरै बहुमन्जिला भवन वर्षौंदेखि अलपत्र छन् ।

जबकि सुनवल नगरपालिकाले आफनो भवन नभएका कारण प्रतिमहिना १ लाख ३७ हजारको दरले स्थानीय तहको सञ्चालनमा आएपछि अहिले करिब २ करोड रुपियाँ घरभाडामा खर्च गरिसकेको सुनवल नगरपालिकाका लेखा शाखा प्रमुख बृहस्पति घिमिरेले बताउनुभयो ।

करोडौं रुपियाँको लगानीमा बनेका यी उद्योग निजीकरण हुनुपूर्व सबै भवनमा कर्मचारीहरु बस्दैआएका छन् । उद्योग निजीकरणमा गएपछि भवनहरु दुव्र्यसनीको अड्डा बन्दै गएका छन् ।

सुनवल नगरपालिकाको मुख्य कार्यालय र वडा कार्यालय आफनो भवन नभएर करोडौं रुपियाँ भाडा तिर्दै भाडाको घरमा बसेको भए पनि स्थानीय सरकारले समेत यी भवन मर्मतगरी पुनः प्रयोगको कुनै योजना बनाउन सकेका छैनन् ।

यी आवास भवनको पुनः प्रयोगको सम्भावनाको विषयमा कुनै अध्ययन नभएको सुनवल नगरपालिका भवन तथा बस्ती विकास शाखाका प्रमुख सन्ध्या ज्ञवालीले बताउनुभयो ।

नेपाल सरकारको करिब १० करोड र चीन सरकारको ३० करोड गरी ४० करोड रुपियाँको लागतमा ३० वर्ष पहिला लुम्बिनी चिनी कारखाना स्थापना भएको थियो ।

यसक्रममा यी आवास भवन बनाइएका थिए । २०६२ मा नेपाल सरकारले मनिषकुमार अग्रवाललाई सो मिल ७ करोड रुपियाँमा बेचेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ४ : ३३ बजे