१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह



सुर्खेत ।

पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । सुर्खेतमा आज शुक्रबार आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।

पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीयतामा गम्भीर चिन्तन गर्न पनि उहाँले पत्रकारसँग आग्रह गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने भन्दै राज्यका निकायले जनताको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । राज्यले सबैलाई समान अवसर देओस् भन्ने जनताको चाहना रहेकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीले चर्चा गर्नुभयो ।

‘जनताको अपेक्षा पूरा नहुँदा राज्यप्रति असन्तुष्टि प्रस्तुत भैरहेका छन्’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हामीले जिम्मेवार बन्नुपर्नेछ । शासनशैली सुधार गर्नुछ । राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चारमाध्यम पनि उत्तिकै भूमिकामा रहनुपर्छ ।’ डिजिटल प्रविधिको उच्चतम प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको उहाँले बताउनुभयो ।

पत्रकारिता लोकतन्त्रको अपरिहार्य पक्ष भएकाले यसले नागरिकको सूचनाको हक प्रत्याभूत गराउन र प्रेस स्वतन्त्रतालाई पूर्ण कार्यान्वयनमा ल्याउन अग्रसर हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ४ : ३६ बजे