७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

समाजवादीका प्रवक्ता भन्छन्– एमालेसँग एकीकरण गर्ने कुरै छैन, भ्रममा नपरौं



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन्। 

नेकपा एमालेसँग पार्टी एकताको चर्चा चुलिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्। 

‘बजार हल्लाको भ्रममा नपरौँ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन। यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ।’ उनले भने, ‘पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर बिचार विमर्शमा छ।’

पछिल्लो समय एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसँगै नेकपा एकीकृत समाजवादी र एमालेबीच एकता हुनसक्ने चर्चा भइरहेको छ। 

उनले प्रचण्ड नेतृत्वको सरकारमा जाने विषयमा पनि कुनै निर्णय भइनसकेको जिकिर गरेका छन्।

‘स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू आयोजना गर्ने तयारी गर्दैछौँ । प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरिसकेको छैन, छलफल चल्दैछ।’ उनले भने, ‘तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन।’

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  ४ : १० बजे