२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिन्छः पर्यटन सचिव



काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र देशमा १० लाख पर्यटक भित्र्याउन सकिने दावी गर्नु भएको छ ।

सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीले बताउनुभयो । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नु भयो ।

सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भए पनि अहिले सन्तोषजनक ढंगले सुधार भइरहेको उल्लेख गर्नुभयो । यस्तै उहाँले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एशीयाली देशहरुमा पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्नुपर्ने आवस्यकता समेत औँल्याउनु भयो ।

कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल ९हान०की अध्यक्ष सृजना राणाले होटल व्यवसायलाई पनि उद्योग व्यवसाय सरह मान्यता दिन सरकारलाई दबाव दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवर्द्धनका लागि बनेका नीतिहरुलाई कार्यान्वयनमा ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ४ : ३८ बजे