१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कसरी हुन्छ मिर्गौला फेल ?



काठमाडौं ।
मिर्गौला खराब वा फेल केलाई भनिन्छ ? एउटा मिर्गौलाले काम नगर्दा नै मिर्गौला फेल भन्छ कि दुईवटै काम गर्न छाडेपछि मिर्गौला फेल भयो भनिन्छ ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ । दुईवटै मिगौलाले काम गर्न छाडेको अवस्थालाई मिर्गौला फेल भएको भनिन्छ । एउटा मिर्गौलाले काम गरिरहेको छ भने त्यो काफी नै हुन्छ ।

मिर्गौलाको काम शरीरमा रगत शुद्धीकरण गर्ने हो । यसले रगतमा भएका विकार तथा काम नलाग्ने वस्तुलाई छानेर रगत शुद्ध बनाउने काम गर्छ । ती छानिएका विकार वस्तुहरु मिर्गौलाले मूत्रथैलीतर्फ पठाउँछ, जुन पिसाबको माध्यमबाट शरीरबाट निष्कासित हुन्छ । मिर्गौलाले यही काम गर्न नसक्ने अवस्थामा डायलाइसिस गर्नुपर्छ । मिर्गौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थालाई मिर्गौला फेल पनि भएको भनिन्छ ।

डायलसिस के हो ?

मिर्गौला खराब वा फेल भएपछि कृत्रिम रुपमा मिर्गौलाको काममा सघाउने विधि डायलाइसिस हो । स्वस्थ मिर्गौलाले गर्ने काम डायलाइसिस गर्दा मेसिनमार्फत कृत्रिम रुपमा गरिन्छ ।

डायलाइसिस सामान्यतया दुई प्रकारको हुन्छ– हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस । हेमोडायलाइसिस भनेको कृत्रिम मिर्गौला (हेमोडायलाइजर) को सहायताले रगत शुद्धीकरण गर्ने विधि हो । पेरिटोनियल डायलाइसिस भनेको पेटमा सर्जरीमार्फत प्लास्टिकको ट्युब (क्याथेटर) राखी त्यसमा पानी ९डायलासेट० पठाएर रगत शुद्धीकरण गर्ने विधि हो ।

जब मिर्गौलाले आफ्नो कार्यक्षमताको ८५ देखि ९० प्रतिशत क्षमता गुमाउँछ तब डायलाइसिसको आवश्यकता पर्छ । यो एक प्रकारले मिर्गौला फेलको अन्तिम अवस्था पनि हो ।

डायलाइसिसले शरीरमा के गर्छ ?

मिर्गौला फेल भएको अवस्थामा डायलाइसिसले शरीरमा विकारको मात्रालाई सन्तुलनमा राख्छ । मिर्गौलाले काम नगर्दा रगत शुद्धीकरण नहुने हुँदा शरीरमा विकारको मात्रा बढ्ने हुन्छ । तर डायलाइसिस गरेपछि शरीरमा भएका फोहोर, अनावश्यक नुन र पानीजस्ता विकार वस्तु जम्मा हुन पाउँदैनन् । यसले रगतमा पोटासियम, सोडियम तथा बाइकार्बोनेट जस्ता रसायनको सुरक्षित मात्रालाई मात्र रहन दिन्छ । त्यस्तै रक्तचापलाई पनि सन्तुलनमा ल्याउँछ ।

मिर्गौलामा कुन प्रकारको समस्या देखिएको छ भन्ने कुरामा डायलाइसिसको अवधि भर पर्छ । ‘एक्युट’ मिर्गौला फेल भएका केही बिरामी उपचारपछि ठीक हुन्छन् । यस्तोमा मिर्गौलाको उपचारमा सहयोगको लागि मात्रै छोटो समयको लागि डायलाइसिस गर्ने गरिन्छ । मिर्गौला सामान्य अवस्थामा आइसकेपछि डायलाइसिस गर्नुपर्दैन । तर ‘क्रोनिक’ ९अन्तिम अवस्थाको० मिर्गौला फेल भएको अवस्थामा उपचारपछि फेरि सामान्य अवस्थामा आउन सक्दैन । यस्तो अवस्थामा जीवनभर नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ ।

बुझ्नुपर्ने कुरा के हो भने डायलाइसिस उपचार होइन । डायलाइसिस गरेपछि मिर्गौला सामान्य अवस्थामा आउने भन्ने हुँदैन अर्थात् यसले मिर्गौलाको रोगलाई निको पार्दैन । यसले मिर्गौलाले गर्ने केही काम मात्रै गर्ने हो । यस्तो अवस्थामा मिर्गौला प्रत्यारोपणको विकल्प हुँदैन । अन्यथा जीवनभर डायलाइसिस गर्नुपर्ने हुन्छ ।

डायलाइसिस गरेको व्यक्ति कति समय बाँच्छ ?

मिर्गौला फेल भएपछि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने अवस्था भएन भने जीवनभर डायलाइसिस गर्नुपर्ने हुन्छ । डायलाइसिस गरेको व्यक्ति कति समय बाँच्छ भन्ने कुरा उसको अन्य स्वास्थ्य अवस्था र मिर्गौलाको उपचार विधिमा देखाउने सतर्कतामा भर पर्छ । डायलाइसिस गरेको व्यक्ति औसत रुपमा पाँचदेखि १० वर्ष बाँच्छन् । तर केही व्यक्तिहरु २० देखि ३० वर्षसम्म पनि बाँचेको उदाहरण छ ।

डायलाइसिस गरेका व्यक्तिले काम गर्न हुन्छ ?

हुन्छ, तर हलुका काम मात्रै । सामान्यतया डायलाइसिसको बानी परिसकेपछि मानिसहरु सामान्य रुपमा आफ्नो काममा फर्किन्छन् । डायलाइसिस गरेको व्यक्तिले गह्रौं सामान उचाल्नेजस्ता भारी काम भने गर्नुहुँदैन ।

कति अवधिमा गरिन्छ ?

मिर्गौला फेल भएपछि दुई प्रकारले उपचार गर्न सकिन्छ । एक डायलाइसिस र दोस्रो प्रत्यारोपण । डायलाइसिस गर्ने हो भने यो आजीवन गर्नुपर्ने हुन्छ, हप्ताको दुई–तीन पटकसम्म । डायलाइसिस गर्न एक पटकको दुई हजार ५०० रुपैयाँ लाग्छ, जुन सरकारले नै व्यहोर्ने गरेको छ ।

मिर्गौला प्रत्यारोपण भने एकचोटि गरे पुग्छ । प्रत्यारोपण गरेपछि डायलाइसिस गर्नु पर्दैन । सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न कुनै शुल्क तिर्नु पर्दैन तर अन्य परीक्षणका लागि भने करिब डेढ लाख रुपैयाँजति खर्च हुन सक्छ । आजीवन औषधि पनि खानुपर्ने हुन्छ ।

कहाँ कहाँ गरिन्छ ?

नेपालमा मिर्गौला प्रत्यारोपण ७० प्रतिशत शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा गरिन्छ । अहिलेसम्म त्यहाँ एक हजार जना बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको छ । योबाहेक वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ ।

नेपाल सरकारले मिर्गौला फेल भएका बिरामीको निःशुल्क उपचार गर्ने गरिन्छ । साढे चार लाख रुपैयाँ पर्ने मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गर्छ । यसका लागि अन्य जाँचहरुलाई करिब एक डेढ लाख रुपैयाँ खर्च हुने गर्छ । त्यसको पनि स्टेज छन् । स्टेप एकबाट पाँचौंसम्म जानलाई दुई वर्षसम्म लाग्न सक्छ । -अनलाइनखबर

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  २ : ४२ बजे