६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

आइतवार राष्ट्रपति निवास शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले सरकारले आर्थिक वर्ष २०७८र०७९ मा गरेका काम कारबाही समेटिएको प्रतिवेदन पेस गर्नुभएको हो । यो वार्षिक प्रतिवेदन फागुन १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।

प्रधानमन्त्रीले आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय शासन प्रणालीलाई सुदृढ गरी सुशासनलाई राज्यका सबै तहमा संस्थागत गर्न, विकास निर्माणलाई गति दिन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न विभिन्न प्रयास भएको बताउनुभयो । सङ्घीयतालाई सुव्यवस्थित बनाउन गएको चुनाव सफल बनाएको र गृह प्रशासन सक्षम र सबल बनाएको उहाँले बताउनुभयो । प्रतिवेदनमा फोहरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ स्वीकृत भएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीलाई पढेर सुनाउनुभएको प्रतिवेदनमा सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड स्वीकृत भएको बताउनुभयो । वित्तीय प्रणाली सुधारका सम्बन्धमा सरकारी भुक्तानी प्रणालीमा विद्युतीय प्रणाली लागू गरिएको उहाँले बताउनुभयो । २३ जिल्लाका दुई लाख २३ हजार तीन सय ३० गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण सुरु भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यस वर्ष ठूला, मझौला, घरेलु तथा साना गरी तीन सय नौ वटा उद्योग दर्ता भएको र विदेशी लगानीका दुई सय ९५ वटा परियोजनामार्फत ५४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव स्वीकृत गरिएको बताउनुभयो । उहाँले यी परियोजना प्रस्तावबाट १६ हजार नौ सय पाँच जनालाई रोजगारी सिर्जना हुने आँकलन गरिएको पनि बताउनुभयो ।

आर्थिक वर्ष २०७९र०८० देखि कार्यान्वयन हुने गरी १० वर्ष विद्यालय शिक्षा क्षेत्र योजना तयार भएको र देशको साक्षरता दर ७८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्रीले सरकार नागरिकको विकास र सुशासनको उच्च अभिष्ट पूरा गर्न आउँदा दिनमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९ आइतबार ००:००  ७ : ३२ बजे