१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लुम्बिनी प्रदेशमा राप्रपाले तत्काल एमालेको साथ नछोड्ने



बुटवल ।
राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पर्ने निश्चित भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल एमालेको नछाड्ने भएको छ । प्रचण्ड सरकारबाट बाहिरिएपछि राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपा लुम्बिनी प्रदेशमा अहिले एमालेका लीला गिरीको नेतृत्वमा सरकारमा सामेल रहेको छ । राप्रपाले गिरीको नेतृत्वलाई अन्तिम अवस्था सम्म साथ दिने रणनीतिमा बनाएको हो ।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पार्टीले तत्काल एमालेको साथ नछोड्ने रणनीति लिएको बताए । ‘हामीले सरकारबाट बाहिरिन अहिलेसम्भव छैन । जहिलेसम्म एमालेले सरकारमा रहन्छ त्यो बेलासम्म हामी पनि बसिरहन्छौँ । बाहिरिन पर्ने अवस्था आए एमालेसँगै बाहिर जान्छौँ,’ उदयले भने ।

उनले नयाँ समीकमरणमा दलहरूले पार्टीलाई कुनै छलफलमा नबोलाएकोले आफूहरू एमालेकै साथ दिने गरी अगाडि बढेको बताउँदै नयाँ समीकरणमा आफूहरु जाने सम्भावना कम रहेको बताए । नयाँ समीकरण लागि माओवादी,नेपाली काँग्रेस लगायतका दलहरूले पनि राप्रपालाई अहिले महत्त्व दिएर आफ्नो समीकरण तिर आउनको लागि छलफल गरेका छैनन् । लुम्बिनी प्रदेश नेपाली काँग्रेस,माओवादी लगायत दलहरूको सांसद सङ्ख्या जोड्दा एमाले र राप्रपालाई बाहिर राख्दा पनि सरकार बन्ने अवस्था भएकाले पनि राप्रपालाई अहिले नयाँ समीकरणले दलहरू भाउ नदिएका हुन् ।

४ सिट रहेको राप्रपाको तर्फबाट जानकी प्रसाद यादवले प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका छन् भने एमालेसहित गठबन्धनमा उप सभामुख राप्रपा कै मेनुका खाँण के सिले बनेकी छन् ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रीय समीकरण अनुसार तत्काल प्रदेशबाट नयाँ थप्ने र हटाउने सम्भावना नरहेको बताउँदै राप्रपालाई जोड्ने विषय कुनै छलफल नभएको बताए । उनले भने, समीकरण प्रदेशबाट बनेको पनि होइन फेरिएको होइन त्यस कारणले केन्द्र निर्देशन अनुसार हामीले अहिले ८ दलसँग एक प्रकारको औपचारिक,अनौपचारिक सम्पर्क छौ तर अन्य दलहरूसँग हाम्रो तर्फबाट कुरा अगाडि बढेको छैन ,।

यस्तै नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले पनि राप्रपासँग कुरा नगरेको बताए । उनले अब केही दिन यता सरकार गठन प्रक्रिया जाने आन्तरिक रणनीति बनाए पनि राप्रपासँग कुनै छलफल गर्ने पर्ने अवस्था नआएको बताए । उनले भने, ’हामीलाई नयाँ सरकार बनाउन अहिले गठबन्धन दलहरूको बहुमत पुग्ने अवस्था छ ।अर्कोतिर केन्द्रबाट राप्रपाको विषयमा कुनै निर्देशन पनि छैन त्यस कारणले अहिले राप्रपा लुम्बिनी प्रदेशमा एमालेले समीकरणमा रहन्छ होला ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले अहिलेसम्मको अवस्था हेर्दा राप्रपा आफूहरूसँग रहने बताए । उनले राप्रपा आफूहरूसँग रहँदा एमालेलाई सरकार परिवर्तन गर्दा चलखेल गर्ने अवसर मिल्ने बताए । उनले भने, ‘उहाँको मन्त्री हाम्रो सरकारमा हुनुहुन्छ,उहाँको सङ्ख्यालाई यदि नयाँ समीकरणसँग सामना गर्नुपर्ने अवस्था आए पनि हामीलाई थप शक्ति हुन्छ,।

लुम्बिनी प्रदेशमा राप्रपा ४ जना सांसद रहेका छन्।जानकी लाल यादव अहिले सरकार मन्त्री रहेका छन् । लुम्बिनी प्रदेशमा ८७ सदस्यमध्ये पहिलो दल बनेको एमालेबाट २९ सांसद छन्। सत्ता गठबन्धनको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रसँग १० छन् ।लुम्बिनी प्रदेशको दोस्रो ठुलो दल नेपाली काँग्रेस२७ सांसदसहित प्रमुख प्रतिपक्षी दलका रूपमा छ ।

लोकतान्त्रिक समाजवादीका ३ तथा नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १÷१ सांसद प्रतिपक्षमा छन् ।

त्यसै गरी सत्ता गठबन्धनको अर्को ठुलो दल राप्रपा र नागरिक उन्मुक्तिका ४÷४ जना र जनमत पार्टीका ३ जना सांसद छन्। यसका साथै ३ जना सांसद रहेको जनता समाजवादी पार्टी सरकारमा सामेल छ । केन्द्रमा फेरिएको पछिल्लो समीकरणले एमालेले ,राप्रपा र दुई स्वतन्त्र सांसद मात्र अर्को कित्तामा जाने छन् । अरू सबै अर्को कित्तामा जाने अवस्था छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९ आइतबार ००:००  ७ : २८ बजे