१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मंगलवार कि शनिबार बजार बन्द गर्ने भन्नेमा बाणगंगाका व्यवसायी विभाजित



मायादेवी अनलाइन, बाणगंगा ।
साप्ताहिक बजार बन्दलाई लिएर बाणगंगाका व्यवसायी दुई कित्तामा बाँडिएका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघ मातहत रहदै आएका उद्योगी, व्यवसायी बजार बन्द मंगलबार गर्ने कि शनिबार भन्नेबारे दुई कित्तामा बाँडिएका हुन् ।

साप्ताहिक बजार बन्दलाई लिएर लामो समय देखि संघमा मतभिन्नता रहदै आएको थियो । गएको शनिबार देखि विवाद बाहिर आएको छ । गत शनिबार चारनम्बरका व्यवसायीले पसल बन्द गराए । चारनम्बरका पसल बन्द भएपनि पिपरा, बोडगाउँ, कोइली बनगाई, घेरवा बनागाई, ओदारी, कोपवा लगायतका अधिकांश पसल खुलेका थिए ।

नगरको मुख्य बजार नै शनिबार बन्द भएपछि अन्यत्रका व्यवसायी अन्यौलमा परेका थिए ।

यता कपिलवस्तु उद्योग बाणिज्य संघले भने साप्ताहिक रुपमा मंगलबार बन्द गराउँदै आएको भएपनि बजार बन्दलाई लिएर व्यवसायी दुई ध्रुवमा बाँडिन थालेपछि बजार बन्द खुला भएको घोषणा गरेको थियो ।

संघका महासचिव मनोज पौडेलले एक सूचना जारी गर्दै अहिले अर्थतन्त्रमा देखिएको संकटको कारण साप्ताहिक बजार बन्द अर्को सूचना जारी नहुँदासम्म खुल्ला हुने घोषणा गरेका थिए ।

कतिपय व्यवसायीले संघको निर्णयलाई स्वागत गरेका छन भने, चारनम्बरका व्यवसायीले हप्ताको एक दिन बजार बन्द गराउनुपर्ने र बार शनिबार नै हुनुपर्नेमा जोड छ ।

बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, विद्यालय, पुस्तक पसल, छपाई प्रेस शनिबार बन्द हुने भएकाले अरु व्यवसाय पनि शनिबार बन्द हुनुपर्नेमा चारनम्बर बजार क्षेत्रका व्यवसायीको माग छ । सोही अनुसार शनिबार बन्द गराउन चारनम्बरका व्यवसायी मन्जुर भएर बजार बन्द गराएका हुन् ।

साप्ताहिक रुपमा मंगलबार बजार हुँदै आएको र यसैलाई निरन्तरता दिनुपर्नेमा पिपरा लगायत बजारका व्यवसायीको माग छ । संघमा आवद्ध पिपरा क्षेत्रका व्यवसायीले मंगलबार बजार बन्द हुने घोषणा गरेका छन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघ जिल्लाकै ठूलो उद्योगी, व्यवसायीको साझा संस्था हो । संघमा बाणगंगासहित बुद्धभूमि नगरपालिकासमेत आवद्ध थियो । नेपाल उद्योग बाणिज्य महासंघले प्रत्येक पालिकामा शाखा खोल्ने निति लिए पछि बुद्धभूमिका गोरुसिंगे, इमिलिया लगायतका व्यवसायी बुद्धभूमि उद्योग बाणिज्य संघमा आवद्ध भएका छन् । यद्यपि साप्ताहिक रुपमा भने त्यस क्षेत्रका व्यवसायीले मंगलबार नै बजार बन्द गराउँदै आएका छन् ।

बाणगंगा क्षेत्रमै बजार बन्दलाई लिएर व्यवसायी बीच मतभिन्नता देखिन थालेपछि संघमा फुट आउने हो कि भन्ने धेरै व्यवसायीको चिन्ता छ । हालै मात्र संघका सचिव खिमानन्द पौडेल ‘कोपिल’ ले पदबाट राजीनामा दिएर उद्योग, व्यापार संघ स्थापना गरी अध्यक्ष भएका छन् । उद्योग व्यापार संघमा बाणगंगाका झण्डै अढाई सय उद्योगी, व्यवसायी आवद्ध भएको संघको दाबी छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघले व्यवसायीलाई मिलाउने प्रयास नगरेको कतिपयको आरोप छ । संघले यो बेला अभिभावकको भूमिका निर्वाह गरी बजार बन्दको सवालमा विभाजित भएका व्यवसायीलाई एकजुट गराउनुपर्नेमा अधिकांशको जोड छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ६ : ४७ बजे