१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुबाट ८१ हजार ८ सय १५ वैदेशिक रोजगारीमा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुबाट गत आर्थिक बर्षसम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा गएका छन् । सामी/हेल्भेटास नेपालले सो तथ्यांक दिएको हो । कतार मलेसिया, साउदी अरब लगायतका देशमा वैदेशिक रोजागारीका लागि गएका हुन् ।

हेल्भेटासका कार्यक्रम संयोजक सनत प्रसाद सापकोटाले नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख नाघेको बताए । त्यसैगरी लुम्बिनी प्रदेश भरिबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाख ६० हजार ७ सय ८५ जना छन् ।

त्यसैगरी गत आर्थिक बर्ष २०७८/७९ मा बैदेशिक रोजगारीका लागि श्रम स्वीकृती र पुनः श्रम स्वीकृती लिई जानेको संख्या ६ लाख ३० हजार ९० रहेका छन् । जसमा महिलाको संख्या ४९ हजार १ सय २८ (८ प्रतिशत) रहेको जनाइएको छ । गत आर्थिक वर्षमा श्रम स्वीकृती लिएर बिदेश जानेको संख्या हालसम्मकै बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ४३ र अंगभंग हुने १ सय ४३ जना थिए । सोही आर्थिक वर्षमा कपिलवस्तुबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका २२ जनाको शव नेपाल आएको बैदेशिक रोजगार बोर्डको तथ्याक छ ।

वैदेशिक रोजगारको अवस्था, अवसर, चुनौती र समाजमा प्रभाव परेको सापकोटाले बताए । सापकोटाले वैदेशिक रोजगारीमा जाने श्रमिक मात्रै नभई उनका परिवार र समाजलाई नै बिभिन्न चुनौती सामना गर्नु परेको बताए । सामी कार्यक्रम काठमाडौंसहित ३८ जिल्लाका १ सय ५६ स्थानीय सरकारको अगुवाईमा सञ्चालनमा रहेको हेल्भेटासका प्रदेश संयोजक पञ्चराम चौधरीले बताए ।

स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा १५ जिल्लाको ६० स्थानीय तहमा र २३ जिल्लाको ९६ स्थानीय तहमा नेपाल सरकारको सशर्त बजेटबाट सामी कार्यक्रम सञ्चालनमा रहको उनले बताए।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ७ : ०४ बजे