१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अनेरास्ववियुको उम्मेदवारी खारेजीको माग गर्दै नेविसंघद्धारा बाणगंगा बहुमुखीमा तालाबन्दी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ ।

आफ्ना समानुपातिक तर्फका उम्मेदवार आकृति भण्डारीलाई अनेरास्ववियुका सभापतिका उम्मेदवार विकास भट्टराईले घरमै पुगि धम्क्याएको भन्दै नेविसंघले स्ववियु कार्यालयमा तालाबन्दी गरेको हो ।

नेविसंघ बाणगंगा इकाई समितिले आफ्ना उम्मेदवार धम्क्याउने अनेरास्ववियुका सभापति पदका उम्मेदवार भट्टराईको उम्मेदवारी खारेजीको समेत माग गरेको छ ।

स्ववियु कार्यालयमा तालाबन्दी गर्दै एक विज्ञप्ति मार्फत उम्मेदवारी खारेजीको माग गरेको हो ।

‘सोमबार राति घटेको घटना प्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । दोषि माथि कारबाही नहुँदासम्म हामी निर्वाचन प्रक्रियामा सहभागी हुँदैनौं,’ नेविसंघका नेता टीआर पाण्डेले भने ।

पाण्डेका अनुसार अनेरास्ववियुका सभापति पदका उम्मेदवारले आफ्ना उम्मेदवार विरुद्ध अनेकन अनर्गल प्रचार गर्दै उम्मेदवारी झिक्न दबाब दिएका थिए ।

यता गठबन्धनका सहयात्री संगठनका उम्मेदवार विरुद्ध भएको घटना प्रति नेकपा (एस) निकट अनेरास्ववियूले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियूले एक प्रेस विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन समितिलाई घटनाको स्वतन्त्र, निष्पक्ष अनुसन्धानको माग गरेको छ ।

घटनाको अनुसन्धान गरी दोषि माथि कारबाही नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडी नबढाउन आग्रह गरेको अनेरास्ववियूका जिल्ला सचिव कमल बेल्वासेले बताए ।

बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन समितिले बुधबार विहान सर्वपक्षिय छलफलका लागि विद्यार्थी संगठनलाई वार्ताका लागि बोलाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ७ : ५७ बजे