१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सुस्त गतिमा सालझण्डी–ढोरपाटन सडक निर्माण



बुटवल ।
२०६६ सालदेखि निर्माण सुरु भएको सालझण्डी–सन्धिखर्क सडकको ९७ किलोमिटरमध्ये अहिले सम्म १९ किलोमिटर मात्रै पिच गरिएको छ । उक्त सडकको केही खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको छ ।

८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५/४० करोडमात्रै बजेट विनियोजन भएको छ । १३ वर्षको अवधिमा जम्मा २ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको सालझन्डी–सन्धिखर्क सडक योजनाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ३५ करोड र थप ८ करोड बजेटको काम सकिएको छ भने यो वर्ष ४० करोड बजेट विनियोजन भएको छ । यो सडक अन्तर्गत पर्ने पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छ । बाग्लुङ जिल्लामा पर्ने बहुला बाँस खोला र दो खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति अन्तिम चरणमा रहेको परियोजनाका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले रातोपाटीलाई बताए । बाँकी पुल भने निर्माण भइसकेको उनले जनाए ।

सन्धिखर्कमा विवाद भएका कारण ५ सय मिटर कच्ची सडकको काम रोकिए पनि अन्यत्र कुनै रोकावट छैन । सुरुमा यही विवादले गर्दा परियोजनाको काममा ढिलाइ भएको थियो । पछि टुक्राटुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले गति लिन नसकेको हो ।

सालझन्डी–ढोरपाटन सडक परियोजना कार्यालयको प्रमुख इन्जिनियर अन्जु परियारले बजेट कै कारण निर्माण कार्यले गति लिन नसकेको बताइन् । अहिले परियोजना अन्तर्गत तीन वटा ठेक्काको काम भइरहेको छ । दुई वटा बहुवर्षे ठेक्का हुन् ।

खुसार्नेदेखि कन्चन खोलासम्म १३ किलोमिटर र बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्का हुन् । बहुवर्षे ठेक्कामा जति काम ग¥यो, उति रकम लैजाने भएकाले परियोजनालाई दबाब दिन कठिन हुन्छ ।

यस्तै खुसार्नेदेखि पटौटीसम्मको पनि ठेक्का लागेको छ । पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने जनाइएको छ ।

खासगरी पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उद्देश्यले सडकको निर्माण थाले पनि सरकारको बेवास्ताले गर्दा उचित बजेट पर्न नसकेको भन्दै स्थानीयवासी निराश बनेको सालझण्डीका पर्यटन व्यवसायी मणिराज घिमिरेले बताए ।

यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न सहज हुनेछ ।

यस्तै, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने देखिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९ बुधबार ००:००  ७ : ३९ बजे