१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व



काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/०८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।

दोस्रो चौमासिकसम्ममा विभागले तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको लक्ष्यको तुलनामा ७९.७८ प्रतिशत अर्थात् दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख रुपैयाँ मात्रै उठेको हो ।

गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत विन्दुले कम हो । विभागले गत आवको आठ महिनामा दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाख रुपैयाँ बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ ।

फागुन मसान्तसम्म एक खर्ब ५८ अर्ब २५ करोड चार लाख रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले एक खर्ब १७ अर्ब सात करोड १९ लाख रुपैयाँ मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३.९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर संकलन करिब १६ प्रतिशत विन्दुले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि लक्ष्यभन्दा निकै न्यून छ । फागुन मसान्तसम्ममा ८२ अर्ब ४३ करोड ३८ लाख रुपैयाँ भ्याट उठाउने लक्ष्य राखिएकोमा रू ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै संकलन भएको छ । जुन असुली लक्ष्यको ८३.३२ प्रतिशत बराबर हो । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर संकलन तीन प्रतिशत विन्दुले न्यून हो । गतवर्ष फागुन मसान्तसम्ममा विभागले ७० अर्ब ७५ करोड ८४ लाख रुपैयाँ बराबर भ्याट उठाएको थियो ।

अन्तःशूल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन । विभागका अनुसार फागुन मसान्तसम्म ७६ अर्ब ८२ करोड ४० लाख अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४.३६ प्रतिशत अर्थात् ६४ अर्ब ८१ करोड ६ लाख संकलन भएको छ । गतवर्ष फागुनसम्मको तुलनामा यसवर्षको सोही अवधिमा अन्तःशुल्क चार प्रतिशत विन्दुले बढेको छ ।

दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८.८१ प्रतिशत संकलन भएको छ । फागुन मसान्तसम्मका लागि दुई अर्ब १४ करोड ८८ लाख रुपैयाँ बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा एक अर्ब ६९ करोड ३५ लाख बराबर मात्रै उठेको हो । गतवर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गतवर्ष एक अर्ब ८७ करोड २७ लाख बराबर उठेको थियो ।

त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७.११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा चार अर्ब ८५ करोड रुपैयाँ स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा चार अर्ब ७१ करोड रुपैयाँ बराबर मात्रै संकलन भएको देखिएको हो । यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । आठ महिना अवधिमा एक अर्ब ४२ लाख रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा एक अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबर उठेको हो । रासस

प्रकाशित मिति : १ चैत्र २०७९ बुधबार ००:००  ३ : ५३ बजे