१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वि.सं. २०५२ साल यताको एमाले अखिलको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी



मायादेवी अनलाइन, बाणगंगा ।
वि.सं. २०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको छ ।

आइतबार भएको मतदानमा कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीमा अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै नेविसंघका निलकुमार थारु विजयी भएका हुन् । नेविसंघ एक्लै चुनाव लडेको हो ।

निर्वाचन समितिका प्रमुख गोविन्द खनालका अनुसार थारुले ३ सय ७२ मत पाएका छन् । थारुसंग अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाल पराजित भएका छन् । खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी (बहुमत)को समर्थन थियो ।

यस्तै अखिल (क्रान्तिकारी) संयुक्त प्यानलका विष्णु बहादुर राउत विज्ञानले १ सय २० मत प्राप्त गरे ।

सचिव पदमा भने अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् । गिरीले ४ सय ३८ मत प्राप्त गरे ।

नेविसंघका नारायण पौडेलले ३ सय ५६ मत पाउँदा अखिल क्रान्तिकारी संयुक्त प्यानलकी बर्षा बन्जाडेले ६१ मत ल्याइन् ।

कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् । उनले ४ सय ३८ मत पाउँदा अनेरास्ववियुकी अप्सरा चौधरी थारुले ३ सय १५ मत ल्याइन् ।

सदस्य तर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् ।

नेविसंघबाट सुदन पोख्रेल निर्वाचित हुँदा नेविसंघका प्रदीप भट्टराई, निशा थारु र अनेरास्ववियुका शेषकान्त मरासिनीको समान मत आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ५ : ३० बजे