४ चैत्र २०८०, आइतबार | Mon Mar 18 2024

इन्सपेक्टर जोशीको दावीः समाजका मुख्य समस्यामा केन्द्रित मिसनमा काम हुन्छ



मायादेवी अनलाइन, बाणगंगा ।
इलाका प्रहरी कार्यालय बाणगंगा २ पिपराका प्रहरी निरीक्षक (इन्सपेक्टर) कोशिस बाबु जोशीले समाजका मुख्य समस्यामा केन्द्रित मिसनमा काम गर्ने बताएका छन् । उनले मंगलबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रम यस्तो बताएका हुन् ।

उनले भने “समाजमा शान्ति सुरक्षा कायम गर्नमा सबैको उत्तिकै दायित्व रहन्छ ।” प्रहरी प्रधान कार्यालय काठमाडौँबाट भर्खर पिपरामा सरुवा भई आएका प्रहरी निरीक्षक जोशीले प्रहरी र समुदाय मिलेर काम गर्न सके मात्र समाजमा शान्ति सुरक्षा कायम हुने बताएका हुन् ।

पत्रकारहरुले यस इलाका र जिल्लाका मुख्य समस्याका बारेमा जानकारी दिँदै नदीजन्य पदार्थको दोहन, काठ तस्करी, लागु पदार्थ दुव्र्यसनी नियन्त्रणलाई प्राथमिकतामा राखी निर्मम भएर लाग्न सुझाव दिएका थिए ।

कार्यक्रममा धेरै नबोलेका उनले भने ‘हाम्रो एउटा मुख्य जिम्मेवारी छ शान्ति सुरक्षा कायम गर्नु, यहाँ हामी केन्द्रित हुन्छौँ । लागु पदार्थ दुव्र्यसनी रोक्नु हाम्रो प्रमुख कार्य हो । तर अरु बिषयमा भने समुदायकै सहयोग चाहिन्छ । समुदायबाट जति सुचना प्राप्त हुन्छ । त्यति काम गर्न सजिलो हुन्छ । छाडा पशु चौपाय नियन्त्रण, नदीजन्य पदार्थ र काठको तस्करी नियन्त्रणमा समुदायकै साथ चाहिन्छ ।’

‘प्रहरी नै बिभिन्न प्रलोभनमा फसेर ठिक ढंगबाट काम हुन नसकेको पत्रकारको जिज्ञासामा उनले थपे ‘मेरा मातहतका प्रहरीको जिम्मेवारी म लिन्छु । गल्ती गर्नेलाई सजाय र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने काम कार्यालयबाट हुनेछ । मातहतका प्रहरीले बदमासी गरे कारबाही हुन्छ । अरु विषयमा जनता र पत्रकारले सहयोग गर्नुहोला । मिलेर केही राम्रो काम गर्न सकिन्छ ।’

‘जनताले दिने सूचना भने गोप्य रहन्छ । समाजलाई गलत दिशामा लैजाने अपराध कर्मका सूचना दिन तपाईहरुले पनि सहयोग गर्नुहोला । अपराध अनुसन्धानमा प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहुन अनुरोध छ’, उनले भने ।

प्रकाशित मिति : ८ चैत्र २०७९ बुधबार ००:००  ६ : २३ बजे